नेपाल–भारत सीमा क्षेत्र बाँकेको जैसपुरमा निर्माण गरिएकोे एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् । एकीकृत जाँच चौकी पूर्ण रुपमा सञ्चालनमा आउन भने केही समय लाग्नेछ ।
भारत सरकारको झण्डै २ अर्ब लगानीमा निर्माण गरिएको एकीकृत जाँच चौकीको भव्य समारोहबीच उद्घाटन गरिएको छ । दुबै देशले आ–आफ्ना देशका मालबाहक गाडी पठाएर एकीकृत जाँच चौकी सञ्चालनमा ल्याएका हुन् ।भारतबाट पेट्रोलियम पदार्थ र नेपालबाट जडिबुटी निर्यात गरेर एकीकृत जाँच चौकी सञ्चालनमा ल्याईए पनि केही आन्तरिक संरचना निर्माणका क्रममा रहेकाले पूर्णरुपले सञ्चालनमा आउन भने केही समय लाग्ने देखिन्छ ।



एकीकृत जाँच चौकीमा झण्डै ३ सय मालबाहक ट्रक पार्किङ गर्न सकिने क्षमता रहेको छ । यहाँ गोदाम, भन्सार भवन, प्रशासकीय भवन, क्वारेन्टाईन भवन, बैंक लगायतको व्यवस्था गरिएको छ ।
२०६८ सालबाट नेपाल पक्षले भारतसंग सीमा जोडिएको बाँकेको जसैपुरमा एकीकृत जाँच चौकीका लागि करीब ९२ विगाहा जग्गा अधिग्रहण गरेको थियो । झण्डै १५ बर्ष पहिले कार्य थालनी गरिएको एकिकृत जाँचचौकीमा भन्सार, अध्यागमन, सुरक्षा व्यारेक, वन कार्यालय, प्लान क्वारेनटाइन, पशु क्वारेनटाइन, खाद्य तथा गुण नियन्त्रण, मुद्रा सटही काउण्डर, बैंक, स्क्यानर मेसिन समेतको व्यवस्था हुनेछ ।



