काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कार्यबहाक प्रमुख बसन्ती श्रेष्ठले ज्येष्ठ नागरिकप्रति नगरपालिका गम्भीर रहेको बताउनु भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ बन्देवीमा आयोजना भएको ज्येष्ठ नागरिक पुनर्मिलन कार्यक्रममा कार्यबहाक प्रमुख श्रेष्ठले नगरको १५ वटै वडामा ज्येष्ठ नागरिकप्रति समर्पित कार्यक्रम एउटै होस् भन्ने उद्देश्यले दिवासेवा कार्यक्रमको सुरुवात गरिएको बताउनु भयो ।

उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम ल्याएको र चन्द्रागिरि नगरपालिकाले पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । ज्येष्ठ नागरिकको महसुस गरिरहेको एक्लोपनलाई भुलाउन मद्दत पुग्ने उद्देश्यले नगरपालिकाले दिवा सेवा कार्यक्रम संचालनमा ल्याएको दाबी गर्नुभयो । नगरपालिका नागरिकको स्वास्थ्यमा गम्भीर भएकोले स्वास्थ्य वीमाको कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुको साथै नगरले निःशुल्क रगतको व्यवस्था पनि गरेको जानकारी गराउनु भयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर सातका कार्यबहाक अध्यक्ष तथा कार्यपालिका सदस्य उमा कुमारी थापाले अझै पनि वडाले व्यवस्थित रुपमा ज्येष्ठ नागरिकलाई सेवा दिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले वडामा रहेको स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकको पहुँच नपुग्दा आमाबुबालाई त्यहाँ पुगि सेवा लिन समस्या परिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले तल्लो भेगमा ज्येष्ठ नागरिक भवन हुँदा माथिल्लो भेगका ज्येष्ठ नागरिकलाई आउन जान समस्या परेकोले वडाको माथिल्लो भाग घुमाउनेमा पनि ज्येष्ठ नागरिक भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाको सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठले पहिले देश कृर्षिमा आत्मनिर्भर हुँदा सबै परिवार एकै साथ हुने गरेको तर अहिले परिवारका सबै सदस्य कामको लागि घरबाहिर जाँदा ज्येष्ठ नागरिक एक्लो हुने गरेको बताउनु भयो । उहाँले नगरपालिकाले ज्येष्ठ नागरिकको एक्लोपनको साथीको लागि दिवा सेवा कार्यक्रमको व्यवस्था गरेपनि परिवार भने आफ्नो जिम्मेवारीबाट पञ्छिन नमिल्ने उल्लेख गर्नुभयो । श्रेष्ठले यदि ज्येष्ठ नागरिकलाई कुनै परिवारले सहयोग नगरे नगरको सामाजिक शाखामा सम्पर्क राख्न पनि आग्रह गर्नुभयो । उहाँले १५ वटै वडामा दिवा सेवा कार्यक्रमको लागि सात–सात लाखको दरले बजेट विनियोज गरेको पनि जानकारी गराउनु भयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा सचिव नवराज बानियाँले ज्येष्ठ नागरिक भनेको देश र राष्ट्रकै गहना भएको बताउनु भयो । उहाँले इतिहास बोकेका ज्येष्ठ नागरिकबाट अहिलेका पुस्ताले सिक्दै समाज रुपान्तरणमा अघि बढ्दै जान आग्रह गर्नुभयो ।

वडा नम्बर ७ का स्वास्थ्य प्रमुख ज्योति श्रेष्ठले वडा भित्र स्थायी बसोबास गरेका व्यक्ति सुगर र प्रेसर जस्ता दीर्घ रोग भएका विरामीलाई स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गर्नुभयो । उहाँले वडा भित्र ७५ जनामा सुगर र प्रेसरको रोग भएको र थप २१ जनामा यो रोग देखिएको पनि जानकारी गराउनु भयो । श्रेष्ठले नगरको यो सेवा लिन स्थायी बासिन्दाको हकमा नागरिकताको प्रतिलिपि र नयाँ बस्तीको हकमा नागरिकता र बसाइसराईको प्रतिलिपि उपलब्ध गराई सेवा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा चार जना ज्येष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम तीन दिनसम्म संचालन गरिएको छ । ज्येष्ठ नागरिकलाई सहज गराउने उद्देश्यले वडाले पुर्नमिलन कार्यक्रमलाई तीन भागमा बाडेको छ । पहिलो दिन बन्देवी घुमाउने, दोस्रो दिन बाणस्थली र तेस्रो दिन ओमकारेश्वर बस्तिमा कार्यक्रम गरिने छ । पहिलो दिनको कार्यक्रममा वडा सदस्य भुवन केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय