काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ स्थित श्रीकृष्ण माध्यमिक विद्यालय दहचोकका एक शिक्षकले एक विद्यार्थीलाई कुटपिट गरेका छन् । कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई शिक्षक एकराज पण्डितले कुटेका हुन् ।
कक्षामा अध्ययन गरिरहेको समयमा शिक्षक पण्डितले एक्कासी आफुमाथी कुटपिट गरेको पीडित छात्रा बताउँछिन् । शिक्षकको कुटाईबाट बेहोस भएपछि उनलाई सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि लगिएको थियो ।



शिक्षक पण्डितले परियारको बाँया कानमा हिर्काएका थिए । शिक्षक एकराज पण्डितले विद्यालयमा पटक पटक यस्ता गतिविधि गरिरहेको र अहिले यो घटनाले विद्यार्थीको ज्यानै लिन खोजिएको भन्दै विद्यार्थीहरु त्रसित भएका छन् । अभिभावकले भने शिक्षा आर्जनका लागि पठाईएको आफ्ना नानीलाई सम्झाई बुझाई अध्ययन गराउनु पर्नेमा उल्टै विना कसुर मरणासन्न हुनेगरी कुटपिट गर्ने शिक्षकलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक गणेश श्रेष्ठले विद्यालय संचालक समितिको बैठक बसी घटनाबारे थप निचोडमा पुग्ने बताउनु भयो । विद्यार्थी कुट्ने शिक्षक एकराज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । कानून अनुसार बालबालिका माथि दुव्र्यवहार तथा कुटपीट गर्ने व्यक्तिलाई ७५ हजार जरिवाना देखि ३ वर्षसम्मको कैद हुने व्यवस्था छ ।



