काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध पारेपछि सत्ता गठबन्धनले संसदमा जारी अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमभन्त्री बनाउन दिल्लीसँग लबिङ गरेको भन्ने सार्वजनिकरुपमै अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ । शुक्रवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित गर्नुभएको थियो । एमालेसँग आजै छलफल गर्ने गठबन्धनको तयारी छ ।






