

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले मच्छेगाउँस्थित मच्छेनारायण मन्दिर आसपासमा संचालनमा रहेको बजार अनुगमन गरेको छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठसहितको टोलीले बजार अनुगमन गरेको हो ।






उपभोक्ता हित कायम गर्नका लागि नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा अधिकांश पसलमा अखाद्य तेलबाट निर्माण गरिएका परिकार पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको तेल परीक्षणमा २५ टिपिएम भ्याल्यु हुनुपर्नेमा सो भन्दा बढी देखिएको थियो । १७ वटा पसलमा गरिएको अनुगमनको क्रममा ४ वटा पसलमा मात्र खान योग्य तेलबाट परिकार बनाइएको पाइएको थियो । १३ वटा पसलबाट निस्किएको करिब ४१ लिटर अखाद्य तेल, चास्नी १३ केजी र बुस्ट केसर पाउडर दुई बट्टा नष्ट गरिएको थियो ।
अनुगनका क्रममा आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले मेलामा अधिकांश पसल दर्ता नभई संचालन भइरहेको बताउनु भयो । उहाँले एक महिने मेलाका लागि पसल दर्ता गराउनु पर्छ भन्नेमा अधिकांश व्यापारीलाई थाहै नहुँदा दर्ता नभई संचालनमा रहेको पनि जानकारी गराउनु भयो । प्रमुख थापाले पहिलो पटक भएकोले उनीहरुलाई सचेत गराई छुट दिएको र अर्को पटक अनुगमनको क्रममा पुनः गल्ती भेटिए कानूनअनुसार कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले व्यापारीलाई वडामा गएर चाँडो भन्दा चाँडो पसल दर्ता गराई संचालन गर्न पनि निर्देशन दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, चन्द्रागिरि नगर उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक न्याय उपभोक्ता मंच, राजश्व शाखा प्रमुख, प्रहरी प्रभाग बृत्त मच्छेगाउँ, स्थानीयलगायतको उपस्थिति रहेको थियो । मच्छेगाउँस्थिति मच्छेनारायण मन्दिरमा साउन २ गते देखि एक महिने मेला लागेको छ ।