भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी दल कांग्रेसका एक सांसदले बुधबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । भारतको मणिपुर राज्यमा भएको हिंसालाई लिएर विपक्षीबीचको गतिरोधका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले संसदमा अविश्वासको मतको सामना गर्ने तयारी गरेको छ । विपक्षी नेताहरूले मोदीलाई मणिपुरमा बोल्न बाध्य पार्ने बताएका छन् ।
विपक्षीहरुले राज्यमा जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न माग गर्दै आएका छन् । मणिपुरमा मे यता बहुसंख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसंख्यकबीच हिंसा भड्किएपछि कम्तिमा १३० जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । गत हप्ता दुई महिलालाई भीडले नग्न परेड गरेको देखाइएपछि विश्वव्यापी आक्रोश समेत बढेको छ ।



सन् २०१४ मा सत्तामा आएपछि मोदीको सरकारले अविश्वास प्रस्तावको सामना गरिरहेको यो दोस्रो पटक हो । २०१८ मा एक सांसदले राज्यलाई विशेष श्रेणीको दर्जा दिने मुद्दामा प्रस्ताव राखेका थिए । अविश्वासको प्रस्ताव लोकसभामा मात्र पेश गर्न सकिन्छ र कम्तिमा ५० जना सांसदले समर्थन गरेमा स्वीकार गरिनेछ ।



