काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको एक गोदाममा छापा मारेको छ । हङकङबाट सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्राली’को दाबी गरिएको सो गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् ।
मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको बताइएको छ । पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए । बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् ।



उनले पछिल्लो समय हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको बताइएको छ । उनको घरबाट केही सामान समेत बरामद गरिएको छ । विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।



