काठमाडौं । सरकारले ३३ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौं, ललितपुर र मकवानपुर क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मातातीर्थ–माल्टा आयोजनाको टावरप्याड र राइट अफ वे निर्माणका लागि मकवानपुर, काठमाडौं र ललितपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको कूल २४.६७ हेक्टर जमीन आगामी २० वर्षसम्म प्रयोग गर्न दिने र सो क्षेत्रबाट चार हजार १ सय ७२ वटा रुख हटाउन स्वीकृति दिने निर्णय गरेको हो ।
यस्तै सरकारले कमला–ढल्केवर पथलैया सडकखण्ड स्तरोन्नतिको लागि सडक सीमाभित्र पर्ने घररटहरा लगायतका संरचनाहरु प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ । मन्त्री शर्माका अनुसार सरकारले काठमाडौं–तराई मधेश दू्रतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरको खोकनामा जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठन भएको समितिको म्याद पनि तीन महिना थप गरिएको छ ।






