काठमाडौं । स्वर्गीय चन्द्रकुमारी उपाध्याय स्मृतिग्रन्थको लोकार्पण गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट सेवा आयोगका अध्यक्ष डा. खगराज बरालको प्रमुख आतिथ्यतामा स्मृतिग्रन्थको लोकार्पण गरिएको हो । कार्यक्रममा डा. बरालले मृत्यु सास्वत सत्य भएको र यसलाई स्वीकार गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले स्मृतिग्रन्थ प्रकाशन गर्नु सामान्य नभएको भन्दै छोटो अवधिमै चन्द्रकुमारी उपाध्यायको स्मृतिग्रन्थ प्रकाशन गरेकोमा प्रकाशक प्रकाशराज उपाध्याय र विनोदराज उपाध्यायको प्रशंसा गर्नुभयो । उहाँले स्मृतिग्रन्थ परिवार, समुदाय र पछिल्लो पुस्ताको लागि अति महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयो । बरालले समाजमा पढेका व्यक्तिलाई विद्वान मानिन्छ तर डिग्री लिंदैमा उ बुद्धिमान हुन सक्दैन भन्दै स्व. चन्द्रकुमारी नपढेरै पनि बुद्धिजीवि वर्गमा पर्नुभएको बताउनु भयो । उहाँले अहिलेको पुस्ताले बाबुआमालाई बोझको रुपमा लिने प्रवृति बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।

स्मृतिग्रन्थका सम्पादक तथा चन्द्रकुमारी उपाध्यायका ज्वाई डा. सदानन्द कडेलले स्व. चन्द्रकुमारी उपाध्यायको प्रोत्साहन र विशेष भूमिकाकै कारण आफु अहिले यो स्थानमा पुग्न सफल भएको स्मरण गर्नुभयो । साथै डा. कडेलले स्व. चन्द्रकुमारी एक विवेकशील आमा भएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रकुमारी उपाध्यायका श्रीमान् एवम् स्मृतिग्रन्थका सल्लाहकार उत्तमप्रसाद उपाध्यायले चन्द्रकुमारीको निधनसँगै आफ्नो जीवनका धेरै प्रश्नहरु अनुत्तरित रहेको बताउनु भयो ।

स्मृतिग्रन्थका प्रकाशक तथा चन्द्रकुमारी उपाध्यायका कान्छा छोरा विनोदराज उपाध्यायले कलिलै उमेरमा आमाको वियोगले कहिल्यै निको नहुने घाउ आफ्नो जीवनमा बल्झिएको बताउनु भयो । आमाको माया र स्नेहलाई सम्झदै कार्यक्रममा स्थलमै उपाध्याय केहीबेर भावविव्हल हुन पुगेका थिए । उपाध्यायले आमाको स्मृतिग्रन्थमा उपस्थिति जनाएर आफुहरुलाई चोट सहन प्रेरणा दिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

स्मृतिग्रन्थलाई चन्द्रकुमारी उपाध्यायको जीवनी, सस्मरण, कविता, गीत र आलेख र परिशिष्ट गरी चार भागमा विभाजन गरिएको छ भने ४६ जना व्यक्तिको लेख, रचना र संस्मरण समावेश गरिएको छ । कार्यक्रममा स्व. चन्द्रकुमारी उपाध्यायको स्मृतिमा निर्माण गरिएको निस्वार्थी माया आमाको बोलको गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. यज्ञराज पन्त, वरिष्ठ साहित्यकार पवन आलोक, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा साहित्यकार प्रा. कोषराज न्यौपाने, नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेल, चन्द्रकुमारी उपाध्यायका आफन्तजनलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय