अमेरिकाको हवाईको जंगलमा लागेको डढेलोले मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । अझै सयौँ बेपत्ता रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । डढेलो तीव्र गतिमा फैलिएपछि ऐतिहासिक सहरको धेरैजसो भाग ध्वस्त बनेको छ । डढेलो प्रभावित लाहाइना सहरका सबैभन्दा बढी प्रभावित भागहरूमा अझै पनि प्रवेश निषेध गरिएको छ ।



यहाँ पानी र विजुली उपलब्ध गराउन सकिएको छैन । बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी छ । उद्धार टोलीहरूले जंगलमा आगलागी पीडितहरूको खोजी गरिरहेका छन् । माउई टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई मर्मत गर्न धेरै वर्ष लाग्ने गभर्नर जोस ग्रीनले बताएका छन् । एक वर्षमा करिब २० लाख पर्यटकलाई आकर्षित गर्ने समृद्ध इतिहास भएको तटीय सहर लाहाइनामा एक हजार भन्दा बढी भवनहरू ध्वस्त भएका छन् ।



