सह आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनलमा फ्रान्सलाई सडन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम चारको यात्रा तय गरेको हो । ब्रिसवन स्टेडियम अष्ट्रेलियामा भएको खेलमा निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि टाइब्रेकरमा पुगेको थियो ।



टाइब्रेकरमा पनि नतिजा नआएपछि खेल सडकनडेथमा पुगेको हो । टाइब्रेकरमा अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले र सडनडेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गरिन् । फ्रान्सका लागि पेनाल्टीमा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनीले सोमेर र सडनडेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गरिन् ।
जितसँगै अष्ट्रेलियाले फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको अर्को खेलमा कोलम्बियालाई २–१ ले पाखा लगाउँदै इंग्ल्यान्डले पनि अन्तिम चारको यात्रा तय गरेको हो । स्टेडियम अष्ट्रेलिया सिड्नीमा भएको खेलमा इंग्ल्यान्डको जितमा लौरेन हेम्पले पहिलो हाफको इन्जुरी समय र एलेसिया रुसोले ६३औँ मिनेटमा गोल गरिन् । लेसी सान्तोषको ४४ औँ मिनेटमा गोल गर्दै कोलम्वियालाई शुरुवाती अग्रता दिलाएकी थिईन् ।



