काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सांस्कृतिक पक्षलाई समेटिएर चन्द्रागिरि अनुशीलन पुस्तक लोकार्पण गरिएको छ ।

चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहद्वारा संग्रहीत सांस्कृतिक लेखहरुको संगालो चन्द्रागिरि अनुशीलन पुस्तकको प्रकाशन चन्द्रागिरि साहित्य समाजले गरेको हो । साहित्यकार तथा संस्कृतिका अध्ययता तुलसी दिवसले विश्वमा नै इतिहास राज गर्ने व्यक्तिको मात्र लेखिने गरेको उल्लेख गर्नुभयो । उहाँले जबसम्म लुकेर र लुकाइएका इतिहासलाई बाहिर ल्याइँदैन तबसम्म बास्तविक इतिहास नआउने बताउनु भयो । दिवसले हाम्रो समाजमा अहिले बोल्नेको पीठो विक्ने नबोल्नेको चामलसम्म नबिक्ने अवस्था बनेको भन्दै अहिले ताम्रपत्र र शिलापत्रलाई मात्र आधार मानेर इतिहास हेरिने गरेकोमा चिन्ता व्यक्त गर्दै मौखिक इतिहासलाई पनि प्राथमिकता दिएर लान जरुरी रहेको उल्लेख गर्नुभयो । नगरको सांस्कृतिक पक्षलाई समेटेर ल्याएको अनुशीलन पुस्तकले अबको चन्द्रागिरिको बाटो कोर्नमा मद्दत पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले ऐतिहासिक, सांस्कृतिक, भाषाभाषीलगायतको पक्षमा नगर धेरै धनी रहेको बताउनु भयो । उहाँले चन्द्रागिरि नगर क्षेत्र आदिम कालदेखि नै महत्वपूर्ण रहनुको साथै ऋषिमुनिको तपोभूमि समेत रहेको उल्लेख गर्नुभयो । उहाँले अब विभिन्न भाषाभाषीका विषयलाई समेटेर नगरमा पाठ्यक्रम ल्याउन लागेको जानकारी गराउनु भयो । प्रमुख गिरीले नगरको सांस्कृति पक्षमात्र नभई नगर भित्रका सबै क्षेत्रको अनुशीलन गरिनु पर्ने र त्यसको लागि नगरले आवश्यक सम्पूर्ण सहयोग गर्ने समाजलाई आश्वासन दिनुभयो ।

इतिहास अनुसन्धान अध्ययन समाजका अध्यक्ष रवीन्द्र रिजालले चन्द्रागिरि भित्र साहित्यकार, कलाकार, डाक्टर, ईञ्जिनियर देखि धेरै दिग्गज व्यक्तित्वहरु बसोबास गरेपनि नून नपुगेको तरकारी जस्तो चन्द्रागिरि नगरपालिका भएको बताउनु भयो । उहाँले ३ हजार वर्षदेखि यहाँका व्यक्तिहरु लेखन कार्यमा रहेको र लेखनबाटै आफ्नो इतिहास बनाउन सफल भएपनि अहिले हामीले त्यस्ता दिग्गज व्यक्तिलाई विर्सिदा इतिहास नै समाप्त हुन पुगेको उल्लेख गर्नुभयो भयो । उहाँले दोश्रो पाणिनीको रुपमा चिनिएका व्यक्तित्व सोमनाथ सिग्देल यही भूमिका भएका र शिखरनाथ सुवेदी, अंशुबर्मालाई व्याकरण लेख्न सहयोग गर्ने व्यक्ति चन्द्रब्रमा गोमि पनि यही चन्द्रागिरिकै भएको स्मरण गराउनु भयो । उहाँले संसारकै पहिलो कानून लिच्छविकालिन अभिलेख पनि चन्द्रागिरिमै हुनु नगरबासीले आफुलाई गर्वको रुपमा लिनु पर्ने स्पष्ट पार्नुभयो । इतिहासकार, साहित्यकारलगायत विभिन्न विधाका व्यक्तित्वहरु यही ठाउँका हुनु चन्द्रागिरिको सानको विषय भएको उल्लेख गर्नुभयो । तर, विस्तारै यस्ता व्यक्तित्वहरुलाई हाम्रो समाजले विर्सनु, नचिन्नु भनेको आफ्नो अस्तित्व र पहिचान गुमाउन पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठले समाजमा भएका सास्कृतिक पक्षलाई केही लिपिबद्ध गर्ने प्रयास मात्र गरेको बताउनु भयो । उहाँले संस्था गठन गर्न सजिलो बचाउन साह्रै गाह्रो पर्ने उल्लेख गर्दै समाजले छिट्टै अर्को सांस्कृतिक पक्षलाई समेटेर भाग दुई निकाल्न लागेको पनि जानकारी गराउनु भयो । श्रेष्ठले समाजले वर्षमा दुई वटा किताब निकाल्ने समेत प्रतिबद्धता व्यक्ति गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद, नगर उपप्रमुख, चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाका प्रमुख, विभिन्न साहित्यकार, बुद्धिजिविलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय