

काठमाडौ । मस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढीले ३१ घर बगाएको छ । कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको थियो ।वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा लेदोसहितको बाढी आएको हो ।







बाढीले कागबेनी बस्तीमा ३१ वटा घर तथा होटल बगाएको छ । यस्तै जोमसोम–कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ । बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित स्थानमा सारेका छन् । बाढीले कागबेनी, लोमान्थाङ जाने एउटा पक्की पुल र एउटा काठेपुल बगाएको छ ।बाढीले मानवीय क्षति भने भएको छैन । बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाई भएका कारण एकिन तथ्यांक संकलन गर्न कठिन भएको छ ।