

सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरूबाट रकम असुली गर्दै आएको खुलेको छ । उनले कहाँ–कहाँबाट आफूले रकम लिएको भन्ने भिडियो नै सार्वजनिक भएको छ ।प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब–डिभिजन वन कार्यालयहरूबाट अवैध रकम असुली गर्दै आएको खुलासा भएको हो । कार्यालयका प्रमुखहरूले निमित्त निर्देशक भट्टलाई रकम बुझाउँदै आएका छन् ।






प्राप्त भिडिओमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन् । भिडियोमा निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको जस्तो देखिन्छ ।
भिडियोमा भनेअनुसार उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन । डिभिजन वन र सब डिभिजन वन कार्यालयहरूले गैरकानुनी कामबाट कमाएको रकमबाट आधा रकम निर्देशक भट्टलाई पठाउने गरेका हुन् । विवादास्पद भट्टलाई सुदूरपश्चिम सरकारले पुनः निर्देशकको जिम्मेवारी दिने तयारी गरेको छ ।