

को हुन् नेपालमा पहिलो गाडी चढ्ने व्यक्ति ?
विश्वमा पहिलो गाडी चढ्ने ब्यक्ति ब्रेथा बेन्ज थिए । त्यस्तै छिमेकी देश भारतमा पहिलो गाडी चढ्ने व्यक्ति जम्सेतजी टाटा थिए । जो टाटा मोटर कम्पनीका संस्थापक पनि हुन । त्यसैगरी नेपालमा पहिलो गाडी चढ्ने व्यक्तिको थिए ? भनेर पढ्दा सामान्य ज्ञान, पाठ्यपुस्तक, लोकसेवा आयोगका पाठ्यक्रमहरुमा वीर शम्सेर भनेर पढिन्छ । तर तथ्य र खोजले यसो भन्छ ।






बि.स.१९५६मा श्री ३ वीरका जेठा छोरा नेपालका पहिलो बैज्ञानिक, जनरल गेहेन्द्र शम्सेरले भाईहरु जनरल धर्म शमसेर र लेफिनेन्ट जनरल रुद्र शमसेर बाहेक अरु कसैलाई थाहा नदिइ फोर्ड मोटर कम्पनीसँग सम्झौता गरी मोटरकार झिकाए । सो मोटरलाई अमलेखगञ्जदेखि (त्यतिबेला अमलेखगञ्जदेखि भिमफेदीसम्म मोटर बाटो बनेको थिएन) हेटौंडा, भिमफेदी, कुलेखानी, चित्लाङ, थानकोट हुँदै झन्डै १३ दिन जति लगाएर भरियाहरुबाट बोकाएर काठमाडौ ल्याइएको थियो । सो मोटरकार बोक्न चित्लाङ भेगका, कुश्लेचौर, मार्खु, पौवा, कुलेखानी, फाखेलका बासिन्दाहरुलाई भरियाको रुपमा प्रयोग गरिएको थियो ।
यसरी सो गाडी सिधै गेहेन्द्र शम्सेरको ज्यासल स्थित ‘ज्यासल कारखाना’ (जुन कारखानाबाट उनले विभिन्न बस्तुहरु आबिस्कार गरेका थिए) ल्याइयो । त्यसपछि सो मोटरकारलाई ठाउँठाउँमा चाँदीले मोरेर टल्काइएको थियो । सो समयमा गाडीमा बत्तीको व्यबस्था नभएको कारण गन्धकबाट उत्पन्न हुने ग्यास बत्ती समेत जडान गरि इन्द्रजात्राको दिन गेहेन्द्र शम्सेरले ‘दश नारायण’ नामका आफ्नो मन परेको कालिगडलाई सो मोटर चलाउन लगाइ भाइ धर्म शम्सेर र रुद्र शम्सेरलाई समेत मोटरकारमा चढाएर सेतो दरबारमा आफ्ना बुबा श्री ३ लाई देखाउन लगे । त्यसपछि श्री ३ वीर पनि तुरुन्त सो कारमा चढी नारायणहिटी राजदरबार गए ।
त्यहाँ श्री ३ वीरले श्री ५ पृथ्वी वीर बिक्रमलाई सो मोटर कारमा चढाई राजदरबारको कम्पाउन्ड भित्रै घुमाए । सो मोटर कारदेखि पृथ्वी वीर बिक्रमले वीर शम्सेरलाई मामा यो मोटर कार मलाइ दिनु भने । श्री ३ वीरले पनि गेहेन्द्र शम्सेरको मुख तर्फ पुलुक्क हेरि सरकारलाई चढाउन कै लागि जेठा (गेहेन्द्र)ले बेलायतबाट मगाएको हो भनेर सो मोटर पृथ्वी वीर बिक्रमलाई नै दिए । त्यस समयमा श्री ३ हरु पनि श्री ५ हरुको यस्तै तावेदारी र चाकडी गर्दै आफ्नो सत्ता सुरक्षित गर्दथे ।
माथि उल्लेखित तथ्यहरु हेर्दा नेपालमा पहिलो गाडी चढ्ने व्यक्ति श्री ३ वीर शम्सेरका जेठा छोरा गेहेन्द्र शम्सेर नै थिए । सो गाडी पनि गेहेन्द्र शम्सेरले झिकाएका थिए भने पछि सो गाडीको स्वामित्व पृथ्वी वीर बिक्रममा गएको देखिन्छ । त्यस्तै उनीसँगै चढेका उनका भाइहरु धर्म शम्सेर र रुद्र शम्सेर पनि यसका भागिदार हुन साथै नेपालमा पहिलो गाडी चालक दश नारायण (उनको थर र वतन खुलेको छैन) नै हुन् । यी तथ्यहरुले नेपालमा पहिलो पटक आएको गाडीसँग वीर शम्सेरको कुनै कुरा जोडिदैन । तर, नेपालमा पहिलो गाडी चढ्ने ब्यक्ति भनेर वीर शम्सेरलाई कुन तथ्यको आधारमा भनियो ? यस्तो ऐतिहासिक तथ्यलाई तोडमोड गरि नेपालको पहिलो गाडी चढ्ने ब्यक्ति वीर शम्सेर नै थिए भनेर नेपालको पाठ्यक्रमहरुमा पढाइनु इतिहासलाई नजर अन्दाज गर्नु हो ।
मैले यसको धेरै समय लगाएर खोज, अनुसन्धान अनि तथ्यहरु जुटाउँदा पनि नेपालमा पहिलो गाडी चढ्ने ब्यक्ती वीर शमशेर हुन भन्ने कुरा कुनै तथ्यले देखाउदैन । यस सम्बन्धी कोही खोजकर्ता अनुसन्धानकर्ता, इतिहासविद्हरु हुनुहुन्छ भने नेपालको पहिलो गाडी चढ्ने ब्यक्ती को हुन् ? भनेर तथ्यसहित राखिदिनु हुन अनुरोध गर्दछु ।
यसरी एउटा इतिहासको गम्भीर प्रश्नको गलत उत्तर दिएर कतिले लोक सेवा पास गरेका छन्, स्कुल, कलेजमा सोही प्रश्नको उत्तर दिएर विद्यार्थीहरु दिक्षीत भएका छन् । हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगीताहरुमा यही गलत उत्तरको सहाराले जीत हार घोषणा भएका छन् । त्यसैले इतिहास जहिले पनि सत्य हुनु पर्छ । सत्यलाई ढाकछोप गरिनु हुँदैन । यो विषयमा शिक्षा, बिज्ञान तथा प्राविधि मन्त्रालय, लोकसेवा आयोगलगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
(लेखक नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)