भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका २७ जना अझै सम्पर्कमा आएका छैनन् । आइतबार बाल सुधारगृहबाट भागेका २२१ मध्ये १९४ जना सम्पर्कमा आएको प्रहरीले बताएको छ । भागेकामध्ये २७ जना अझै फरार छन् । बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए । आइतबार उक्त सुधारगृहमा रामेछाप मन्थली–३ का २१ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए । सुधार गृहबाट बाहिर निस्कने क्रममा भएको झडपमा १९ जना प्रहरी घाइते भएका छन् । उक्त समयमा भित्र रहेका अधिकांश बन्दीहरूले प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएको प्रहरीले जानकारी दिएको छ ।

सुधारगृहमा के भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ । बालगृहमा बालकको मृत्यु भएको विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाको नेतृत्वमा समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समयसीमा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय