जीवनमा सबैलाई सफलता प्राप्त गर्ने रहर हुन्छ । हामी सबैलाई सधै यही प्रश्नले गाजिरहेको छ । जीवनमा कसरी सफलता प्राप्त गर्ने, जीवनलाई कसरी खुशी बनाउने भनि हरेक दिन नयाँ योजना बनाउन घोत्लिन्छौं हामी । त्यही अनुसारको लगाव, श्रम दिनहुँ गरिरहेकै हुन्छौं । तरपनि सफलता भने सोचेअनुरुप प्राप्त गर्न सक्दैनौ । लाखौंमा केही व्यक्तिलाई मात्र सफलता प्राप्त हुन्छ । त्यस्तै सफलता प्राप्त गर्न सफल भएकी छिन्, चन्द्रागिरि–२ की ६५ वर्षीया कृष्णप्रभा जोशी ।
चितवन रत्ननगर–२ स्थायी ठेगाना भएकी कृष्णप्रभा जोशी हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को घट्टे डाँडामा बस्दै आएकी छिन् । अचानक एक दिन उनको परिवारमा सम्पूर्ण आशा र भरोसाको दियो सदाका लागि निभ्छ । अर्थात् उनका श्रीमानको निधन हुन्छ । श्रीमान्को कमाइको भरमा चलिरहेको परिवारको सम्पूर्ण जिम्मेवारी आइपर्छ कृष्णप्रभाको काँधमा । दिन वित्दै गए । कृष्णप्रभाको जीवनमा फेरी अर्को बज्रपात आइपर्छ । कृष्णप्रभाका एक्ला छोराको पनि क्यान्सर रोगबाट मृत्यु हुन्छ । त्यसपछि उनको जीवन अझ कष्टकर बन्दै जान्छ । श्रीमान् र छोरा गुमाएको पीडा कम हुन नपाउँदै भएकी एउटी बुहारीले पनि उनको साथ छोडिन् । छोरी पनि अध्ययनको लागि भन्दै बेलायत हिडिन् । एउटी सानी नातिनीको साथमा आफुलाई सम्हाल्दै जिम्मेवारी निर्वाह गर्दै अघि बढ्दै गईन्, कृष्णप्रभा ।




आम्दानीको स्रोत केही नहुँदा आफुले आमाबुबाबाट सिकेको काम र जानेको सीपबाटै काम गर्ने निधो गर्छिन् । त्यही अनुरुप २०७५ बैशाख २४ गते घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा जोशीको फुड प्रोडक्सन कम्पनी दर्ता गरिन् । २०७९-०७-२८ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा व्यवसाय सुरु गर्ने उद्देश्यले नगरपालिकामा आफ्नो कम्पनीलाई सूचिकृत गराइन् । आयस्रोत केही थिएन । उनले आफूले जानेको लाखामरीको काम गर्ने निर्णय गरिन् । तर, पर्याप्त पूँजी नहुँदा एक किलो मैदाबाट जसोतसो कामको सुरुवात गरिन् ।
एक किलो मैदाबाट सुरु गरिएको कम्पनीमा अहिले महिनाको ३५ देखि ४० बोरासम्म मैदा खपत हुने गरेको छ । साधारण लेखपढ जानेकी कृष्णप्रभा छोटो समयमा नै सफल र चर्चित उद्यमी बन्न सफल भएकी छिन् । पाँच जनालाई रोजगारी दिएकी कृष्णप्रभा आफु पनि रातोदिन काममा खटिरहन्छिन् । बजारको माग अनुसार आफुले सामान उत्पादन गर्न नसकेको र अहिले उत्पादन भएका सामान नेपाल बाहेक जापान, लण्डन, अष्ट्रेलियालगायतका देशमा निर्यात हुने गरेको कृष्णप्रभा सुनाउछिन् । उनले अहिले निम्की, लाखामरी, खजुरी, अचार, दालमोट, मकै, भटमास मिक्स, धुपलगायतको उत्पादन गर्दै आएको र सबै खर्च कटाएर मासिक १ लाख रुपैयाँसम्म बचत हुने गरेको बताउछिन् ।

देशबाट दैनिक रुपमा युवाहरु विदेशी रहेको अवस्था र बढ्दै गएको बेरोजगारीलाई मध्य नजर गर्दै कृष्णप्रभाले आफुले जानेको सीप अरुलाई सिकाँउदै आएको र पैसा कमाउनलाई कहीकतै भौतारिन नपर्ने बताउछिन् । उनको कामको सम्मान गर्दै प्रोत्साहनस्वरुप केही महिना अघि मात्रै चन्द्रागिरि नगरपालिकाले उहाँलाई १ लाख रुपैयाँले पुरस्कृत गरेको थियो । नगरले उनलाई प्रशिक्षकको रुपमा समेत राखेर अन्य इच्छुकहरुलाई सिकाउने काम गरिरहेको छ ।

कृष्णप्रभालाई अहिले कामले भ्याइ नभ्याइ छ । कामसँगै अहिले आफ्नो सबै दुःख भुलेकी छिन् । पैसाको पनि दुःख छैन अहिले उनीलाई । मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन् । तर, समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सके जस्तोसुकै परिस्थितिमा पनि सफलता हात पार्न सकिन्छ भन्ने एउटा उदाहरणकी पात्र बन्न सफल भएकी छिन् कृष्णप्रभा जोशी ।




