लगानी बोर्डले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
त्यस्तै, बैठकले तमोर जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउनका लागि आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ ।



त्यस्तै, बैठकले दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । त्यस्तै बैठकमा बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि पनि प्रारम्भिक छलफल भएको छ ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ । यसका अतिरिक्त बोर्डको बैठकले ग्रिन क्याल्सियम इमोनियम नाइट्रेट मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनोकोला एसडीएन बीएचडीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।
त्यसैगरी, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका तयार पार्न गठित समितिको म्याद पनि थप गरिएको छ । बैठकले बोर्ड कार्यालयको आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम पनि स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन÷विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो तथा परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



