काठमाडौं । प्रतिनिधि सभामा मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको आयोजना गरिएको छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने नियमित कार्यतालिका अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल सदनमा उपस्थित हुनुभएको हो । सांसदहरूले विभिन्न विषयमा उठाएका प्रश्नहरूमा प्रधानमन्त्री दाहालले आफू नेतृत्वमा सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले भुटानी शरणार्थी प्रकरणमा राज्यले निष्पक्ष छानबिन गरिरहेको दाबी गर्नुभयो ।
उहाँले निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने नागरिकमा परेको बताउनुभयो । उहाँले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने काम नगरेको जिकिर समेत गर्नुभयो ।अर्को प्रश्नमा प्रधानमन्त्री दाहालले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । रास्वपा सांसद असीम शाहले सोधको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकार टिकाउनलाई भ्रष्टाचारको फाइल नखोलेको पनि स्पष्ट पार्नुभयो ।



यसैगरी प्रधानमन्त्री दाहालले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताउनु भएको छ । सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै उहाँले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताउनुभयो । यस्तै, उहाँले गंगामाया अधिकारीको उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको र गंगामायालाई मानवीय सेवा र संरक्षण दिइएको पनि जवाफ दिनुभयो ।



