काठमाडौँ । सरकारले बहुप्रतीक्षित विद्युत् विधेयक–२०८० संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त विधेयकलाई पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उक्त विधेयकको विगत लामो सयमदेखि माग हँुदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले पनि तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए ।
सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । अघिल्लो संसदमै पेश गरिएको उक्त विधेयक संसद्को कार्यकाल सकिएका कारण प्रक्रियामा जान सकेको थिएन । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गर्नुभएको थियो भने २०७९ भदौ ३१ गते विधेयक फिर्ता लिनुभएको थियो ।



यसैगरी मन्त्रिपरिषद बैठकले भन्सार विधेयक–२०८० लाई पनि संसदमा पेश गर्ने निर्णय गरेको छ । बैठकले निजीकरण समितिको सदस्यमा सांसदद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई मनोनयन गरेको छ । यस्तै, सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ भने नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री शर्माले जानकारी दिनुभयो ।



