नुवाकोट — शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा अनियन्त्रित बसले सडक किनारमा पार्किङ गरी राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक किनारमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि बस र भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–६ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। प्रहरीका अनुसार तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था मध्यम छ। घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय