पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब पोखरामै स्वास्थ्य परीक्षण सेवा पाउने भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले कात्तिक १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको हो। पोखरा र आसपासका जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई स्वास्थ्य परीक्षणकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गरिएको हो। यसबाट विशेषगरी गण्डकी प्रदेश तथा आसपासका जिल्लाका श्रमिकलाई सहज हुने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न थालेसँगै यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने नागरिकको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। झपिन्द्र पोखरेलका अनुसार पोखराबाट वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई स्थानीय स्तरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन यो सेवा सञ्चालनमा ल्याइएको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालयले पोखराबाट गन्तव्य मुलुकतर्फ जाने नागरिकको स्वास्थ्य परीक्षण स्थानीय तहमै गर्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि प्रतिष्ठानले आवश्यक कार्यविधि तयार गरी सेवा कार्यान्वयनमा ल्याएको हो। यसअघि पोखरा तथा आसपासका जिल्लाका श्रमिकले स्वास्थ्य परीक्षण गराउन काठमाडौं जानुपर्ने अवस्था थियो। स्वास्थ्य परीक्षणसँगै उडानका लागि समेत काठमाडौं पुग्नुपर्ने हुँदा उनीहरूले अतिरिक्त समय र खर्च व्यहोर्नुपर्थ्यो। अब पोखरामै सेवा उपलब्ध भएपछि श्रमिकलाई यात्राको समय, यातायात खर्च तथा अन्य झन्झट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण सेवा सुरु हुनुलाई यस क्षेत्रको वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तारका रूपमा हेरिएको छ। स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा श्रमिकलाई सहज हुने र पोखरा तथा आसपासका जिल्लाका नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन्। यो सेवाले वैदेशिक रोजगारीमा जाने श्रमिकको समय र खर्च बचत गर्न सहयोग पुर्‍याउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित आवश्यक सेवाहरूको केन्द्रका रूपमा विकास गर्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय