अमेरिकामा घरबारविहीन हुनेको संख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर ६ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो ।
सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो । घरबारविहीन भएकामध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् । सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषाका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको संख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।



सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको सङ्ख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३ सय ९९, न्युयोर्कमा एक लाख तीन हजार दुई सय, फ्लोरिडामा ३० हजार ७ सय ५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३ सय ७७ र ओरेगनमा २० हजार १ सय ४२ जना घरबारविहीन छन् ।



