एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।
केही हप्ताअघि अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सारेको बताइएको छ । नयाँ व्यवस्थाअनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानुनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् ।



त्यसैगरी, गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेशमार्फत रोक लगाइएको छ । आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइएको बताएका छन् ।
यसैगरी, ह्वाइट हाउसका नीति प्रमुख स्टेफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन् ।
यद्यपि, स्वतन्त्र अनुसन्धान संस्था आप्रवासन नीति प्रतिष्ठानका अनुसार यस्तो उद्देश्यले अमेरिका पुगेर जन्मिने शिशुको संख्या प्रशासनले दाबी गरेजति धेरै छैन । संस्थाको अनुमानअनुसार हरेक वर्ष झण्डै २२ हजारदेखि २६ हजार शिशु यसरी जन्मिने गरेका छन् । सरकारी तथ्यांकअनुसार सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट ९ हजार ६ सय शिशुको जन्म भएको थियो ।
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी संविधानको चौधौँ संशोधनद्वारा सुनिश्चित जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने प्रयास गरे पनि अमेरिकी सर्वोच्च अदालतले त्यो प्रयासलाई अस्वीकार गर्दै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने फैसला सुनाएको थियो । नयाँ आदेशहरूले पनि कानुनी परीक्षणको सामना गर्ने अपेक्षा गरिएको छ ।



