सिड्नी – अस्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ। पछिल्लो तथ्याङ्कले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ। अस्ट्रेलियाली तथ्याङ्क ब्युरो (ABS) का अनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ हजारले घटेर ३ लाख २५ हजारमा झरेका छन्।
यसअघि मेसम्मको तीन महिनामा पनि रोजगारीका रिक्त पद २.२ प्रतिशतले घटेका थिए। लगातार दुई अवधिमा रिक्त पद घट्नुले अस्ट्रेलियाको श्रम बजारमा कर्मचारीको माग केही सुस्त भएको देखाएको छ।



निजी क्षेत्रमा बढी गिरावट
पछिल्लो अवधिमा रोजगारीका रिक्त पदमा आएको गिरावट मुख्य रूपमा निजी क्षेत्रबाट भएको छ। अगस्टसम्मको तीन महिनामा निजी क्षेत्रका रिक्त पद २ प्रतिशत अर्थात् ५ हजार ८ सयले घटेका छन्। यसको विपरीत, सार्वजनिक क्षेत्रमा भने रिक्त पद ७.८ प्रतिशत अर्थात् २ हजार ८ सयले बढेका छन्। यसले निजी र सार्वजनिक क्षेत्रको रोजगारी मागबीच फरक प्रवृत्ति देखिएको छ।
थोक व्यापारमा ठूलो गिरावट
उद्योगअनुसार हेर्दा थोक व्यापार क्षेत्रमा रोजगारीका रिक्त पद सबैभन्दा धेरै घटेका छन्। यस क्षेत्रमा रिक्त पद १८ प्रतिशतले कम भएका छन्। त्यस्तै, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक सेवा क्षेत्रमा रिक्त पद १७.३ प्रतिशतले घटेका छन्। यी क्षेत्रको गिरावटले समग्र निजी क्षेत्रका रिक्त पद घटाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
खुद्रा व्यापारमा भने बढ्यो रोजगारीको माग
सबै क्षेत्रमा रोजगारीका रिक्त पद घटेका भने छैनन्। खुद्रा व्यापार क्षेत्रमा रिक्त पद २४.५ प्रतिशतले बढेका छन्। उद्योगगत रूपमा यो सबैभन्दा ठूलो वृद्धि हो। त्यस्तै, वित्तीय तथा बीमा सेवामा रिक्त पद १४.१ प्रतिशतले बढेको छ। यसले केही सेवा तथा ग्राहकसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कर्मचारीको माग अझै कायम रहेको देखाउँछ।
वार्षिक रूपमा पनि रिक्त पद घटे
अगस्टसम्मको एक वर्षको अवधिलाई तुलना गर्दा अस्ट्रेलियामा रोजगारीका रिक्त पद १।३ प्रतिशतले घटेका छन्। अर्थात् एक वर्षअघिको तुलनामा अहिले उपलब्ध रोजगारीका खाली पदको संख्या केही कम भएको छ। पछिल्लो तथ्याङ्कले अस्ट्रेलियाको श्रम बजारमा सबै क्षेत्रमा समान प्रवृत्ति नरहेको देखाएको छ। निजी क्षेत्रमा विशेषगरी थोक व्यापार तथा व्यावसायिक सेवाजस्ता क्षेत्रमा कर्मचारीको माग घटेको छ भने खुद्रा व्यापार, वित्तीय तथा बीमा सेवा र सार्वजनिक क्षेत्रमा रिक्त पद बढेका छन्।
यसकारण समग्रमा रोजगारीका रिक्त पद घटे पनि सबै उद्योगमा समान रूपमा रोजगारीको माग कमजोर भएको निष्कर्ष निकाल्न सकिँदैन। रोजगारी खोज्ने क्षेत्रअनुसार अवसरको अवस्था फरक रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ।



