काठमाडौं । पुस शुक्ल पूर्णिमाका दिन आजदेखि परम्परागत स्वस्थानी व्रत सुरु भएको छ। एक महिना लामो यो व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ। धार्मिक आस्थासँग जोडिएको स्वस्थानी व्रतका क्रममा भक्तजनहरूले व्रत बस्ने, स्वस्थानी कथा वाचन गर्ने तथा विभिन्न शक्तिपीठको पूजा–आराधना गर्ने चलन रहेको छ। यस अवधिमा देशका विभिन्न स्थानमा धार्मिक मेला लाग्ने गर्दछ। विशेषगरी यो समयलाई माघ स्नानको अवधिका रूपमा लिने गरिएकाले काठमाडौंको साँखुस्थित शालीनदीमा स्नान मेला सुरु भएको छ। आज बिहानैदेखि शालीनदी क्षेत्रमा स्नान, पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

शालीनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गर्न नेपालका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन्। धार्मिक विश्वासअनुसार यस अवधिमा व्रत, स्नान र कथा श्रवण गर्नाले मनोकामना पूरा हुने, पाप नाश हुने तथा परिवारमा सुख–शान्ति प्राप्त हुने विश्वास गरिन्छ। स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजताका लागि सुरक्षा, सरसफाइ तथा व्यवस्थापनका तयारी गरेको जनाएका छन्। माघ शुक्ल पूर्णिमासम्म चल्ने यस धार्मिक पर्वका क्रममा शालीनदी क्षेत्र धार्मिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय