काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ नीति र कार्यक्रमहरु कार्यन्वयनमा आउनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण विधेयकअनुसार आजदेखि नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्न बाटो पनि खुलेको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले गत जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकोमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदानबाट प्राप्त हुने अनुमान छ । सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ ।

आर्थिक ऐनमार्फत् सरकारले नयाँ करका दर लागू गर्छ । कतिपय करका दर बजेट घोषणा भएकै दिनदेखि लागू भएका छन् भने कतिपय करका दर आर्थिक वर्ष शुरु भएको दिन आजदेखि कार्यान्वयनमा आउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय