निलम महर्जन
इटालीका पूर्वगोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले खेल जीवनबाट ४५ वर्षको उमेरमा सन्यास लिएका छन् ।



सामाजिक सञ्जालमार्फत विश्व फुटबलका उत्कृष्ट गोलरक्षक मध्येका एक बुफोनले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन । क्लबबाट सबै प्रतियोगिताको उपाधि जितेका बुफोन विश्व फुटबलमै सर्वाधिक खेल खेल्ने गोलरक्षक हुन् । विश्व खेलकुदमा कमै मात्र भाग्यशाली खेलाडी छन् जसको बिदाई भव्य हुने गर्दछ । अधिकांशको सन्यास गुमनाम जस्तै छ । त्यस्तै गुमनाम सन्यास लिएका भेट्रान खेलाडी हुन् इटालीका गोलरक्षक जियानलुइगी बुफोन । पछिल्लो दशक विश्व फुटबलमा कुनै गोलरक्षकको चर्चा थियो भने त्यसमा सबै भन्दा अगाडी आउने नाम हो बुफोन । इटालीको दोस्रो श्रेणीको लीग सिरी बी मा पर्माबाटै खेलिरहेका बुफोनले बुधबार सामाजिक सञ्जाल मार्फत खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरे ।
पर्माको एकेडेमीबाट खेल जीवन सुरु गरेका उनले सन् १९९१ देखि १९९५ सम्म त्यहाँको युवा टोलीबाट खेले । सन् १९९५ मै पर्माकै सिनियर टोलीबाट उनले सिरी ए मा डेब्यु गरे । त्यहाँबाट सन् २००१ मा त्यसबेला गोलरक्षकको कीर्तिमानी ३२ दशमलव २ मिलियनमा युभेन्ट्समा आबद्ध भएका थिए । १७ वर्ष युभेन्ट्सबाट खेल्दा उनले क्लबका लागि ६५७ खेल खेले । सन् २०१८ मा एक वर्ष पिएसजी र २०१९ देखि २०२१ सम्म पुन युभेन्ट्सबाट खेलेका उनी त्यसबेलादेखि पर्माबाटै खेलिरहेका छन् । २०२४ सम्मको सम्झौता भएपनि चोटसँग संघर्ष गर्दै उनले गत सिजन १९ खेलमात्र खेले । व्यवसायिक खेल जीवनमा उनले कोपा इटालिया ६ पटक, युरोपा लिग १ पटक, सिरी ए १० पटक, लिग वान १ पटक, इटालीयन सिपर कप ७ पटक जित्दा ३ पटक युभेन्ट्सलाई च्याम्पियन्स लीगको उपविजेता समेत बनाए ।
१६ वर्ष मुनिको इटालीको राष्ट्रिय टोलीदेखि सबै उमेर समुहबाट खेल्दै १९९७ मा उनी सिनियर राष्ट्रिय टोलीमा परे । यसबीचमा उनले इटालीलाई समान १९१ पटक फिफा कन्फेडेरेसन्स कपको तेस्रो, युरोकपमा उपविजेता र विश्वकप समेत जिताए । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । त्यस विश्वकपमा उनी उत्कृष्ट गोलरक्षक समेत बने । इटालीले विश्वकप जितेको यो चौंथो अबसर हो । राष्ट्रिय टोलीका लागि उनले सर्वाधिक १७६ क्याप जितेका छन् । इटालीको साथै विश्व फुटबलका कुनै पनि गोलरक्षकको लागि यो सबै समयको धेरै क्याप हो । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।



