काठमाडौं – नेपालमा भारतीय पर्यटकको आगमन घट्दै गएको तथ्यांक सार्वजनिक भइरहेका बेला नेपाली पर्यटक भने भारतका धार्मिक तथा पर्यटकीय गन्तव्यतर्फ आकर्षित भइरहेका छन्। विशेषगरी दसैं–तिहारको बिदामा उत्तराखण्डका नैनीताल, कैंची धाम, हरिद्वार र ऋषिकेशलगायत क्षेत्रमा नेपाली पर्यटकको चहलपहल बढेको देखिन्छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गएको सेप्टेम्बरमा भारतबाट नेपाल आउने पर्यटकको संख्या करिब २३ हजारमा सीमित भएको थियो। यो वर्षकै सबैभन्दा कम संख्या भएको बोर्डको तथ्यांकले देखाएको छ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरो र त्यसपछिका विपद्सम्बन्धी समाचारले भारतीय पर्यटकमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश कमजोर बनाएको पर्यटन क्षेत्रका जानकारहरूको विश्लेषण छ।
अर्कोतर्फ, नेपालीहरू भने धार्मिक दर्शन, घुमफिर तथा मनोरञ्जनका लागि भारतका विभिन्न गन्तव्य पुगिरहेका छन्। दसैंलगत्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतको उत्तराखण्डतर्फ जाने नेपाली पर्यटक तथा तीर्थयात्रीको उल्लेख्य चहलपहल देखिएको थियो। रोजगारीका लागि आवतजावत गर्नेहरूसँगै धार्मिक तथा पर्यटकीय भ्रमणमा निस्किएका नेपालीको उपस्थिति पनि उत्तिकै देखिन्थ्यो। उत्तराखण्डलाई भारतमा देवभूमिुका रूपमा चिनिन्छ। हरिद्वार, ऋषिकेश, गंगोत्री, चारधाम तथा नैनीतालजस्ता गन्तव्यका कारण यो क्षेत्र भारतीय र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ। सन् २०२५ मा उत्तराखण्डमा ६ करोड ३० लाख आन्तरिक तथा बाह्य पर्यटक पुगेको विवरणले त्यहाँको पर्यटन गतिविधिको विस्तार देखाउँछ।



पछिल्लो समय नेपाली पर्यटकको आकर्षणमा परेको अर्को धार्मिक गन्तव्य हो, नैनीतालनजिकै रहेको कैंची धाम। भारतीय सन्त नीम करोली बाबाले सन् १९६४ मा स्थापना गरेको यो आश्रममा नेपालका विभिन्न जिल्लाबाट समेत दर्शनार्थी पुग्ने गरेका छन्। विशेषगरी सामाजिक सञ्जाल, चलचित्र तथा नीम करोली बाबाको आध्यात्मिक दर्शनबारे फैलिएको चर्चाले यस क्षेत्रको लोकप्रियता थप बढाएको छ। नीम करोली बाबा प्रेम, सेवा, करुणा र ईश्वरप्रतिको आस्थालाई जीवनको मुख्य आधार मान्थे। उनको सन्देश ुसबैलाई प्रेम गर, सबैको सेवा गर, सबैलाई खुवाऊ र ईश्वरलाई सम्झिराखु भन्ने दर्शनमा केन्द्रित थियो। उनका अनुयायीहरूमा विश्वका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वसमेत रहेको बताइन्छ। एप्पलका संस्थापक स्टिभ जब्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग जोडिएका प्रसंगले पनि कैंची धामलाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको छ।
कैंची धामसँगै नैनीताल पुग्ने नेपाली पर्यटकले प्राकृतिक सौन्दर्य र धार्मिक पर्यटनको अनुभव लिने गरेका छन्। तर नेपालमै पनि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका लागि प्रशस्त सम्भावना रहेका छन्। विशेषगरी सुदूरपश्चिमका परशुराम धाम, खप्तड, बडिमालिका, रामारोशन तथा विभिन्न नदी, कुण्ड र मन्दिरहरू धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छन्। महाकाली नदीपारिको उत्तराखण्डसँग भौगोलिक तथा सांस्कृतिक निकटता रहेको सुदूरपश्चिममा धार्मिक पर्यटन विस्तारको सम्भावना अझ बढी देखिन्छ। पर्याप्त प्रचारप्रसार, यातायात सुविधा, व्यवस्थित आवास, तीर्थयात्रीमैत्री पूर्वाधार र सीमापार पर्यटन प्रवर्द्धन गर्न सके उत्तराखण्ड आउने पर्यटकलाई नेपालका धार्मिक तथा प्राकृतिक गन्तव्यसम्म आकर्षित गर्न सकिने पर्यटन क्षेत्रका जानकारहरूको धारणा छ।
नेपालमा विपद्पछि पर्यटन गन्तव्य सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु पनि उत्तिकै आवश्यक देखिएको छ। सडक तथा यातायातको अवस्था, सुरक्षित यात्रा मार्ग र पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाबारे भारतीय बजारमा प्रभावकारी सूचना प्रवाह गर्न सके पर्यटकको विश्वास बढाउन सहयोग पुग्न सक्छ। नेपाली पर्यटक भारतका धार्मिक गन्तव्यमा पुगिरहेको वर्तमान अवस्थाले नेपालका आफ्नै धार्मिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार र पर्यटन पूर्वाधार विकासको आवश्यकतालाई समेत उजागर गरेको छ।



