काठमाडौं । ६९औं राष्ट्रिय सहकारी दिवस चन्द्रागिरि नगरपालिकामा पनि उत्साहजनक सहभागिताका साथ मनाइएको छ ।
चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजनामा थानकोटस्थित कोतघरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि घनश्याम गिरीले सहकारी क्षेत्रले मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारीमार्फत साना तथा मध्यम आय भएका नागरिकहरूको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुगेको पनि उहाँले बताउनुभयो । प्रमुख गिरीले नगर सहकारी समन्वय समितिसँग सहकार्य गरी अघि बढ्न आफू तयार रहेको पनि उल्लेख गर्नुभयो ।



चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरमा हाल सञ्चालनमा रहेका सहकारीहरुले सदस्यहरुको आर्थिक उपार्जनसहित रोजगारीका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै राष्ट्रिय सहकारी बैंक, बलम्बु शाखाका प्रमुख सविना पोखरेलले सहकारी संस्थाहरूको वित्तीय सुदृढीकरण, सुशासन तथा दिगोपनाका लागि बैंकले विभिन्न सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । उहाँले सहकारीहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न वित्तीय अनुशासन र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

चन्द्रागिरि नगर सहकारी समन्वय समितिका अध्यक्ष लेमन श्रेष्ठले सहकारी आन्दोलनको ऐतिहासिक महत्व र यसको वर्तमान सान्दर्भिकताबारे चर्चा गर्दै सहकारीहरूबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यमार्फत सहकारी क्षेत्रलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी सहकारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, सहकारीकर्मी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



