नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताएका हुन् ।
अध्यक्ष ढकालले बैंक तथा वित्तीय संस्थाहरुले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुने बताए ।



नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गरे । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीहरुले भोगेको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताए ।
सभापति सिंहले सरकारले युवा विद्यार्थीहरु सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीहरुलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताए ।



