वीरगन्ज – वीरगन्ज पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकोमध्येको एउटा बाघलाई नियन्त्रणमा लिइएको छ।नवटा हात्ती सहित विगत १० दिन देखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहोश पारी नियन्त्रणमा लिएको हो। दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए।
एउटा भाले र एउटा पोथी बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको थियो ।बाघको आक्रमणबाट एक जनाको मृत्युु समेत भएको थियो भने एक जना घाइतेपनि भएको थियो ।राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनौं चौपायापनि मारेको थियो ।



डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीन वटा हात्तीका साथ विगत १० दिनदेखि खटिएपनि सफलता पाउन सकेको थिएन ।बाघ लुकेर बसेको सम्भावित स्थानहरुमा उक्त टोलीले सिसिटिभी क्यामेरापनि जडान गरेको थियो।
ती दुवै बाघ उखु र मकैबारीमा लुक्दै ठाउँ सर्दै हिडेका कारण १० दिनसम्म निकुञ्जको टोलीले फेला नै पार्न सकेको थिएन।तर बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी २ को उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेलापरेपछि डाट हानेर बेहोश पारी उक्त १८ महिनाको भाले बाघलाई नियन्त्रणमा लिन सफल भएको यादवले बताए ।अर्को पोथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।
बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खोरमा राखेर गाडीमा लोड गरि चितवन राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएको यादवले बताए । बाघ नियन्त्रणका लागि १० दिन लगातार खटिएको निकुञ्ज र वन कार्यालयको टोलीको व्यवस्थापन सखुवा प्रसौनी गाँउपालिका कार्यालयले गरेको गाँउपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।यसमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्तो थारुकोपनि सहयोग रहेको उनले बताए ।



