काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्कुल टू ओलम्पिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार चन्द्रागिरि नगरपालिका–७ स्थित महाँकाल ब्याडमिन्टन कभर्ड हलमा नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




नेपाल ओलम्पियन्स एशोसियसन र महाँकाल ब्याडमिन्टन कभर्ड हलको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपालका तर्फबाट विभिन्न संस्करणमा ओलम्पिक खेल उत्सवमा सहभागीता जनाउने खेलाडीहरू तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीहरूको सहभागीता रहेको थियो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा संचालित उक्त कार्यक्रमका दौरान विद्यार्थीहरूले खेलकुदका विविध आयाम तथा अनुभवहरू सुन्ने अवसर पाएका थिए । कार्यक्रममा सहभागी खेलाडीहरूले आ–आफ्नो खेल जीवन यात्राका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । ओलम्पियन एशोसिएसनका अध्यक्ष दिपक विष्टले आफूहरुले खेलकुदमा राखेको कीर्तिमानलाई नयाँ पुस्ताले तोड्न सकेको खण्डमा आफूहरु खुसी हुने कुरा बताए । सोही अवसरमा ओलम्पियन विधान लामा र तेक्वान्दो प्रशिक्षक सीता तामाङले आत्मरक्षाका लागि अपाउन सक्ने तरिका विधार्थीहरुलाई अभ्यास गरेर देखाएका थिए ।

स्कुले विद्यार्थीहरूलाई खेल गतिविधिप्रति प्रेरित गर्न, अनुशासन सिकाउन तथा अभिप्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख गिरिले बताए । कार्यक्रममा ओलम्पियन विधान लामा, दिपक विष्ट तथा राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।
यसैगरी एसियन गेम्सका सहभागीहरू तथा पदकधारीहरू दिपक श्रेष्ठ, दिपक महर्जन, एरिका गुरुङ, सीता तामाङ, फुटबलर अनिल गुरुङलगायतका खेलाडीको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरपालिकाले कार्यक्रममा उपस्थित खेलाडीहरूलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, शिक्षा शाखा प्रमुख सुजन राज खनाल, वरिष्ठ विधालय निरीक्षक बुद्धि प्रसाद भट्ट, विभिन्न विद्यालयबाट सहभागिता जनाएका प्रधानाध्यापकहरु तथा बिधार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो ।



