अन्तर्राष्ट्रिय उडानका क्रममा विमान कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेज ले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।उपभोक्ता अदालत का अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार ललितपुरकी प्रिति थापाको पक्षमा उक्त फैसला सुनाएको हो । अदालतले शारीरिक र मानसिक क्षतिको गम्भीरता तथा अन्तर्राष्ट्रिय र स्थानीय कानुनलाई आधार मानेर क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ ।
सूचना अधिकारी होमनाथ कँडेलका अनुसार मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिइएको हो । यसअनुसार कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति हुनेछ ।



यो घटना सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट काठमाडौं फर्किने क्रममा भएको थियो, जब अत्यधिक तातो कफी खस्दा पीडित गम्भीर रूपमा जल्न पुगेकी थिइन् । उनलाई ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।फैसलाको पूर्णपाठ आएपछि क्षतिपूर्ति कार्यान्वयन हुने र असन्तुष्ट पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी विकल्प रहने बताइएको छ ।



