नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला सामाजिक सञ्जालमा ट्रोल बनिरहनु भएको छ । नेपाली युवाहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्न सके महिनाको दुई–चार लाख रुपैयाँ सजिलै आम्दानी गर्न सक्ने थापाको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा धेरैले उहाँको मजाक उडाइरहेका छन् । कतिपयले भने थापाको भनाइ समय सान्दर्भिक रहेको तर्क पनि गरेका छन् ।

नेपालमा धेरैले पछ्याउने मध्येको एक फेसबुक पेज हो रुटिन अफ नेपाल बन्द । यो पेजले शनिबार कीर्तिपुरमा ल्यापटप लिएर काम गर्न तयार युवाहरु भन्दै एउटा पोष्ट गर्यो । यो पोष्ट, झट्ट हेर्दा स्वभाविक भएपनि पोष्टको शीर्षकमा जे भनिएको छ, त्यसले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पछिल्लो भनाइलाई मजाक अर्थात् ट्रोल बनाएको स्पष्ट छ । यो पोष्टमा आएका सयौं कमेन्टले सोही कुरा पुष्टि गर्छन् । कुनै अमुक व्यक्तिले चलाएको सञ्जालको पेजको कुरा मात्र होइन । गगन थापालाई ट्रोल बनाउन ‘पढे लेखेका र बुझेकाहरुको पार्टी’ उर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संगठित रुपमै लागिपरेको प्रष्ट हुन्छ रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौंलाको पोष्टले पनि । संग्रौलाले कांग्रेस महामन्त्री थापाको भनाइको भिडियो क्लिपसहित म्याआआआआ गर्दै पोष्ट गर्नुभएको छ ।

रास्वपाकै सह–कोषाअध्यक्ष दीपक बोहोराले कीर्तिपुरको डाँडातिर भन्दै धेरै युवाहरु एकै स्थानमा भेला भएर ल्यापटप चलाउँदै गरेको एआई सिर्जित तस्वीर पोष्ट गरेर ट्रोल बनाउनु भएको छ । त्यस्तै रामु बी सिंग्देल नामका फेसबुक प्रयोगकर्ताले पनि ‘मसंग त ल्यापटप छैन क्याकबुक छ । यसले हुन्छ कि ल्यापटप नै किनम ?’ भन्दै थापाको भनाइलाई मजाक बनाएका छन् ।

संघर्ष क्षेत्री नामका फेसबुक प्रयोगकर्ताले ‘डेल ल्यापटप पुरानो भयो, त्यति राम्रोसँग फङसन गर्दैन, म्याक प्रो नभएर मात्रै हो नत्र त महिनामा दुई लाख कमाउन किपु नै जान पर्थेन् ।’ भन्दै थापालाई ट्रोल बनाएका छन् ।

निरोज एन के कोइराला नामका फेसबुक प्रयोगकर्ताले ‘म त ल्यापटक बोकेर कीर्तिपुरको डाँडातिर लागे त, हाम्रो गगन दाजुलाई भेटेसी दुई लाखदेखि चार लाख सम्मको जागिर दिन्छु भनेको छ । ल है साथीहरु तपाईहरु पनि यतै आउनुस् भेटघाट गरौंला ।’ भन्दै पोष्ट गरेका छन् ।

महामन्त्री थापाको भनाइलाई ट्रोल बनाइएको विषयमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने असन्तुष्टि जनाएका छन् । इराज लामा लेख्छन्, ‘मैले गगन थापाको कुरामा कीर्तिपुरको डाँडामा मात्रै होइन । मुडेको डाँडामा पनि आईटीको सम्भावना देखेको छु । दुनियाँ यस्तै सम्भावना देखेर कहाँबाट कहाँ पुगिसक्यो । नेपालमा ट्रोल भैराछ । मान्छे सम्भावना देखेर मंगल ग्रह पुगे, चन्द्रमा पुगे । तर नेपालमा ट्रोल हुन्छ ।’ थापाको भनाइमा समर्थन जनाएका अर्का प्रयोगकर्ता प्रवेश आचार्य लेख्छन्, ‘पनि म गगन थापासँग सहमत छु । मसँगै केही ठाउँमा काम गरिरहेका र म आफैंले करको सम्बन्धमा सुझाव दिएका ५०औं साथीहरु हुनुहुन्छ जसले ल्यापटप बोकेर डाँडामा बसेर महिनाको २ देखि ४ लाख कमाउनु हुन्छ ।’ गगन थापाको ल्यापटप बोकेर डाँडामा जाने अभिव्यक्तिमा सामाजिक सञ्जाल विभक्त छ । तर थापाले नै आशंका जनाए जसरी उहाँको भनाइलाई ट्रोल बनाउनसमेत सूचना प्रविधिसम्बन्धी दक्षताको दुरुपयोग भइरहेको छ । खासगरी थापाको भनाइ राजनीतिक पूर्वाग्रहका कारण बढी ट्रोल भएको बुझ्न गाह्रो छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय