काठमाडौं – सडक डिभिजन काठमाडौंले जिल्लाभित्रका सडकमा देखिएका खाल्डाखुल्डी र क्षतिग्रस्त भागको तत्काल मर्मतका लागि मोबाइल एप र ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याउने भएको छ। सडक डिभिजनका अनुसार, काठमाडौं जिल्लाभित्र रहेका सामरिक तथा अत्यावश्यक सडक खण्डहरूमा आउने समस्या छिटो समाधान गर्ने उद्देश्यले यो नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो।
यस प्रयोजनका लागि विशेष प्रकारको ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ तयार गरिएको छ, जसले सडकमा परेको खाल्डो र क्षतिग्रस्त स्थानमा तत्काल पुगेर मर्मत कार्य गर्नेछ। साथै, सर्वसाधारणले मोबाइल एपमार्फत सडकको अवस्था फोटोसहित रिपोर्ट गर्न सक्ने व्यवस्था गरिएको छ।



भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार एक औपचारिक कार्यक्रममार्फत मोबाइल एप र एम्बुलेन्स सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक डिभिजन काठमाडौंले जनाएको छ। डिभिजनले यस अभियानले काठमाडौंका सडकको अवस्थालाई सुधार गर्न, सवारी दुर्घटना घटाउन र यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



