काठमाडौं- काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार बिहान १० किलोमिटरको ‘काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन’ (सम्पदा दौड) सम्पन्न भएको छ। वसन्तपुर डबलीबाट बिहान ६ बजे सुरु भएको दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वहरूको सहभागिता रहेको थियो। काठमाडौं फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आयोजना गरिएको दौडले सहरको सांस्कृतिक सम्पदा, पर्यटन र खेलकुदलाई जोड्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ।

क्याट्रिना बेवदेखि सन्तोषी श्रेष्ठसम्मको सहभागिता

सम्पदा दौडमा अस्ट्रेलियाली पारालिम्पिक खेलाडी क्याट्रिना बेव, नेपाली धावक सन्तोषी श्रेष्ठ तथा ओलम्पियन हरिबहादुर रोकायालगायत खेल व्यक्तित्वहरूको सहभागिता रहेको थियो।सन्तोषी श्रेष्ठ १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडतर्फ स्वर्ण पदक विजेता हुन्। हरिबहादुर रोकाया ओलम्पिकमा सहभागी भएका अनुभवी नेपाली धावक हुन्। उनीहरूको उपस्थितिले सहभागी धावकलाई प्रोत्साहन गर्नुका साथै खेलकुदमार्फत सम्पदा प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

१३ वटा वडा समेटिएको दौड मार्ग

वसन्तपुरबाट सुरु भएको दौडले काठमाडौं महानगरपालिकाका १३ वटा वडा समेटेको थियो। दौडको मार्गमा जुद्धशालिक, इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नारायणहिटी क्षेत्र, नक्साल, हाँडीगाउँ, कालोपुल, सिफल, जयबागेश्वरी, गौशाला, मैतीदेवी, डिल्लीबजार, भद्रकाली, सहिदगेट, धरहरा र न्युरोडलगायत क्षेत्र समेटिएका थिए। ऐतिहासिक चोक, मन्दिर र सांस्कृतिक महत्त्व बोकेका बस्ती हुँदै सञ्चालन गरिएको दौडले काठमाडौंको मौलिक पहिचान र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको थियो। दौड पूरा गर्ने सहभागीलाई मेडल प्रदान गर्ने कार्यक्रमसमेत राखिएको थियो।

कात्तिक १३ देखि काठमाडौं फिल्म फेस्टिभल

काठमाडौं महानगरपालिकाको आयोजनामा कात्तिक १३, १४ र १५ गते तीनदिने काठमाडौं फिल्म फेस्टिभल आयोजना हुँदैछ। फेस्टिभलअन्तर्गत युथ भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्।महोत्सवमा रेड कार्पेट, मास्टर क्लास, प्यानल छलफल, अन्तरक्रिया र पुरस्कार वितरणलगायत कार्यक्रम पनि सञ्चालन हुनेछन्। प्रदर्शनहरू राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा र तारागाउँलगायत स्थानमा आयोजना गर्ने तयारी छ। फेस्टिभलमार्फत नेपाली चलचित्रको प्रवर्द्धन, स्थानीय रचनात्मक उद्योगको विकास तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सहकार्य विस्तार गर्ने महानगरपालिकाको लक्ष्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय