तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी कात्तिक १६ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरले गरेकी हुन्। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा फूलप्रेमी, पुष्प व्यवसायी तथा सर्वसाधारणले विभिन्न प्रजातिका फूल अवलोकन गर्न र खरिद गर्न सक्नेछन्।

प्रदर्शनीमा नेपालमै उत्पादन भएका गोदावरी फूलका विभिन्न जातसँगै नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिएका छन्। गोदावरीका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमली र अन्य मौसमी फूलका साथै घर तथा बगैँचा सजाउन उपयोगी बोटबिरुवासमेत बिक्रीका लागि उपलब्ध छन्। यस वर्ष प्रदर्शनीमा कुल ८६ वटा कक्ष राखिएका छन्। गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतियोगिता आयोजना गरिएको छ। विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीरा पहिचान गरी आवश्यक परामर्श दिन प्रदर्शनीस्थलमा विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिएको छ। यसबाट घरबगैँचा सजाउन चाहने तथा पुष्प व्यवसायमा लाग्न इच्छुक व्यक्तिले उत्पादन प्रविधि र बिरुवाको हेरचाहसम्बन्धी जानकारी लिन सक्नेछन्। आयोजकले पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ। तिहार तथा छठका बेला फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी फूल उत्पादनको प्रवर्द्धन, नेपाली पुष्प व्यवसायीलाई बजार उपलब्ध गराउन तथा उपभोक्तालाई एउटै स्थानमा विभिन्न प्रजातिका फूल खरिद गर्ने अवसर प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय