खोटाङ- खोटाङमा बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ आयोजना हुने भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा २०८१ वैशाख–११ गतेदेखि वैशाख–२२ गतेसम्म बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङ तथा नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला म्याराथन, विभिन्न उमेर समूहको दौड, साहित्यिक तथा साँगीतिक लगायतका प्रतियोगिता समेटिएको महोत्सव गर्न लागिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।



खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष तथा नेपाल सितोरीयो कराते संघका केन्द्रिय सदसय सन्जय कुमार राईले बताउनुभयो ।
कराँतेमा सातवटै प्रदेशसहित गोजुरियो, सोतोकान, वादोरियो र आयोजकले प्रतिष्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । कराँते प्रतियोगिताका लागि अनुमानित ३५ लाख साथै एथ्लेटिक्स (म्याराथन र समूहगत दौड)मा १० लाख र साहित्यिक प्रतियोगितामा १० लाख खर्च हुने आयोजकले जानकारी दिइएको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुले खेलकुदको क्षेत्रमा खोटाङले हालसम्म हासिल गरेको उपलब्धीसमेत प्रस्तुत गर्नुभएको थियो ।



