दाङ – बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्न सक्ने भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा मौसमको बढी प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते रातिदेखि सुरु हुन सक्ने जनाएको छ। प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र विभिन्न क्षेत्रमा जनजीवनमा असर पर्न सक्ने मन्त्रालयले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले किसानलाई कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न आग्रह गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्रा स्थगित गर्न अनुरोध गरिएको छ।नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानमा जान मन्त्रालयले आग्रह गरेको छ।

जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सवारी आवागमन रोक्ने र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायलाई नागरिकलाई मौसमको जोखिमबारे समयमै जानकारी गराउन र सम्भावित विपद्को उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।मौसममा प्रतिकूल अवस्था देखिएमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलामा पानीको बहाव बढेका बेला तटीय क्षेत्रमा नजान र आधिकारिक निकायबाट जारी हुने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय