काठमाडौं । चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरका सामुदायिक विद्यालय तथा क्याम्पसहरुलाई ल्यापटप तथा प्रिन्टर हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ तथा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले विद्यालयहरुलाई ल्यापटप तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

१७ माध्यामिक विद्यालयलाई प्रति विद्यालय २ थानका दरले ३४ वटा र प्रति क्याम्पस २ थानका दरले दुई वटा क्याम्पसलाई ४ थान ल्यापटप हस्तान्तरण गरेको शाखाले जानकारी दिएको छ । यसैगरी एक हजार भन्दा बढी विद्यार्थी भएका माध्यामिक विद्यालयलाई थप एक एक थान गरी तीन थान ल्यापटप वितरण गरिएको शाखाले जनाएको छ । यस्तै, नगरमा रहेको तीन वटा आधारभूत विद्यालयलाई एक एक थान ल्यापटप दिइएको छ । यसैगरी, १७ वटा माध्यमिक विद्यालय र तीन वटा आधारभूत विद्यालयलाई एक एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ ।

ल्यापटप वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख बसन्ती श्रेष्ठले आफूले निर्वाचनका क्रममा विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता अहिले आएर पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यसअघि नै ल्यापटप तथा प्रिन्टर वितरण गर्ने योजना भएपनि विविध कारणले हुन नसकेको तर अहिले आफ्नो प्रतिवद्धता पूरा भएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक तथा संचालक समितिका पदाधिकारीहरुलाई नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप राम्रो र प्रविधियुक्त बनाउन पनि निर्देशन दिनुभयो ।


नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले नगरले यसअघि १७ मा.वि.लाई ३४ वटा, २ वटा क्याम्पसलाई ४ वटा स्मार्ट बोर्ड वितरण गरिसकेको जानकारी दिनुभयो । यस्तै १७ वटा मा.वि. र तीन वटा आधारभूत विद्यालयलाई गरी ४३ वटा स्मार्ट टिभि हस्तान्तरण गरिसकेको भट्टले बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय