काठमाडौं – चन्द्रागिरि नगरपालिकाबाट विगत एक वर्षदेखि सहायता स्वरूप उपलब्ध हुँदै आएको निःशुल्क इन्टरनेट सेवा अब आवश्यक नरहेको भन्दै गर्व मिडियाद्वारा सञ्चालित आवर न्यूज क्रिउले उक्त सेवा बन्द गरिदिन नगरपालिकासँग आग्रह गरेको छ। आवर न्यूज क्रिउले नगरपालिकालाई धन्यवाद दिँदै हालसम्म उपलब्ध गराइएको सहयोगप्रति आभार व्यक्त गरेको छ। साथै, नगरपालिकाको सिफारिसमा बलम्बुस्थित नेपाल टेलिकमबाट जडान गरिएको इन्टरनेट सेवा हाललाई विच्छेद गरिदिन अनुरोध गरेको हो।

नगरपालिकाभित्र अन्य प्रतिष्ठित सञ्चारमाध्यम तथा अनलाइन सञ्चार संस्था पनि सञ्चालनमा रहेको अवस्थामा एउटै सञ्चारमाध्यमले मात्र निःशुल्क इन्टरनेट सेवा पाउनु उचित नदेखिएको आवर न्यूज क्रिउको ठम्याइ रहेको छ। यस्तो सुविधा अन्य सञ्चारमाध्यमले समेत समान रूपमा पाउनुपर्नेमा आफूले मात्र सुविधा लिइरहनु अन्य संस्थाप्रति अन्याय हुने महसुस भएकाले सेवा त्याग्ने निर्णय गरिएको संस्थाले जनाएको छ।

आवर न्यूज क्रिउले आगामी दिनमा नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा तथा सुविधा सबै सञ्चारमाध्यमलाई समान र पारदर्शी ढंगले उपलब्ध गराउनसमेत आग्रह गरेको छ। पहुँच र चिनजानका आधारमा कुनै एक सञ्चारमाध्यमले विभिन्न सुविधा पाउने तर अन्य सञ्चारमाध्यम त्यस्ता अवसरबाट वञ्चित हुने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै संस्थाले यसअघि आफूले लिएको सुविधाका कारण अन्य सञ्चारमाध्यममा पर्न गएको असहजताप्रति क्षमायाचनासमेत गरेको छ। संस्थाले सञ्चार क्षेत्रलाई समान व्यवहार र निष्पक्ष अवसर उपलब्ध गराउने वातावरण निर्माण गर्न चन्द्रागिरि नगरपालिकासँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय