काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ अन्तर्गत नागढुंगा क्षेत्रमा सार्वजनिक तथा राजमार्ग क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियान सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरेर राजमार्ग क्षेत्रभित्र बनाइएका टहराहरू भत्काउन थालेको हा े।



नगर प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडा प्रतिनिधिहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन गरिएको अभियानअन्तर्गत सडक तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाइएको जनाइएको छ ।
नगरपालिकाका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण, सडक विस्तार तथा आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन अतिक्रमण हटाउने अभियान अघि बढाइएको हो । नागढुंगा क्षेत्र राजधानी प्रवेशद्वारका रूपमा परिचित भएकाले राजमार्ग क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक रहेको नगरपालिकाको भनाइ छ ।
टहरा हटाउने क्रममा केही स्थानीयवासीले विरोध तथा अवरोध गर्ने प्रयास गरेका थिए । यद्यपि नगरपालिकाले सुरक्षा निकायको समन्वयमा अभियानलाई निरन्तरता दिएको छ । प्रभावित पक्षले वैकल्पिक व्यवस्थाको माग गर्दै असन्तुष्टि व्यक्त गरेका थिए भने नगरपालिकाले सार्वजनिक जग्गा तथा सडक क्षेत्र अतिक्रमण गर्न नपाइने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ ।
चन्द्रागिरि नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा, सडक किनारा तथा अन्य सरकारी सम्पत्तिमा भएका अतिक्रमण पहिचान गरी हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षण र योजनाबद्ध शहरी विकासका लागि यस्ता अभियान आवश्यक रहेको बताएको छ ।



