काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ ले आफ्ना वडामा रहेका होटल, व्यवसायहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा वडाले विभिन्न होटल तथा पसलहरुमा अनुगमन गरेको हो ।
करिव २० वटा पसलको अनुगमनका क्रममा एक जना बाल श्रमिक भेटिएका छन् । न्यू लुम्बिनी फास्टफुड एण्ड सेकुवा कर्नरमा १७ वर्षीय बाल श्रमिक भेटिएका हुन् । बाल श्रमिक भेटिएपछि अनुगमन टोलीले फास्टफुड सञ्चालकलाई बाल श्रमिक नराख्न र पुनः राखिएको भेटिएमा कारवाही गरिने चेतावनी दिएको छ ।




अनुगमनका क्रममा उपप्रमुख बसन्ती श्रेष्ठले बाल श्रमिक गैर कानुनी भएको र उनीहरुको उज्ज्वल भविष्यको लागि शिक्षा नै पहिलो प्राथमिकता भएकोले आर्थिक अवस्था कमजोर भएका परिवार र उनीहरुका बालबालिकालाई नगरले नै शिक्षाको व्यवस्था गर्ने बताउनु भयो ।

यस्तै, वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले व्यवसायीहरुलाई बालश्रम नगराउन आग्रह गर्नुभयो । उहाँले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारीमा रहेको बताउँदै अनुगमनलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले व्यवसायीहरुको गल्तीले वडाको योजनामा केही ढिलाई हुन पुगेको पनि बताउनु भयो ।

सोही क्रममा व्यवसायहरु वडामा दर्ता भए नभएको पनि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अधिकांश व्यवसायीहरुले विना दर्ता नै सञ्चालन गरिरहेको पाइएको र उनीहरुलाई सात दिनभित्र वडामा आई दर्ता गर्न पनि आग्रह गरिएको थियो ।



