चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को योजना अझै कार्यान्वयनमा ल्याउन सकेको छैन । नगरपालिकाले असार महिनाको पहिलो साता भित्र नयाँ आर्थिक वर्षको योजनालाई कार्यान्वयन ल्याइसक्नु पर्नेमा असोज महिना सुरु हुन लाग्दासम्म पनि योजनालाई कार्यान्वयनमा ल्याउन नसक्दा समस्यामा परेको छ । चन्द्रागिरि नगरपालिका अहिले बजेट शून्यताको अवस्थामा छ ।

आ.व. २०८१–०८२ को योजना असारसम्म ल्याइसक्नु पर्नेमा भदौ महिना सकिन लाग्दासम्म पनि नगरले योजना कार्यान्वयनमा ल्याउन नसक्दा नगरपालिकाको खाता संचालन हुन सकेको छैन । नगरपालिकाको खाता यही नै दिन संचालन हुन्छ भन्ने अझै अन्योल छ । नेपालीहरुको महान चाड बडा दशैं नजिकिएसँगै जनप्रतिनिधिहरु तलब, भत्ता खान र खुवानको लागि नगरपालिकाको खाता जतिसक्दो संचालनको लागि योजना कार्यान्वयन गर्न अहिले दौडधुपमा लागि परेका छन् । यदि जनप्रतिनिधि साँच्चिकै जनताप्रति उत्तरदायी थिए भने किन पहिले नै योजना कार्यान्वयनमा ल्याएर खाता संचालनमा ल्याउन सकेनन् ? किन जनताले गरेका योजनाको कामको भुक्तानी दिनलाई जनप्रतिनिधि पहिले नै तत्पर देखिएनन् ? यतिखेर जनप्रतिनिधितर्फ प्रश्नका औंला तेर्सिएका छन् । आफुलाई अप्ठ्यारो परेपछि जे पनि गर्न पछि पर्दैनन् भन्ने यो एउटा गतिलो उदाहरण हो ।

नगरको खाता संचालन नहुँदा गत आ.व. २०८०–०८१ को योजनाको भुक्तानी अझै नगरपालिकाले उपभोक्तालाई दिन सकेको छैन । शिक्षक, कर्मचारीहरुले साउन महिनादेखि तलव पाएका छैनन् । नगरपालिकाले गत आर्थिक वर्ष २०८०–०८१ मा घाटा बजेट ल्याउँदा चालु आ.व. २०८१–०८२ सुरुभएको दुई महिना वितिसक्दासम्म पनि अहिलेसम्म गत आ.व.को ठूला देखि साना योजनाको लगभग १५ करोड जतिको भुक्तानी दिन अझै सकेको छैन । चन्द्रागिरि नगरपालिकाले आ.व.२०८१–०८२ को लागि २ अर्ब ८० करोडको बजेट ल्याएको छ । जसमा १ अर्ब ३० करोड बराबरको घाटा बजेट समावेश गरेको छ । जसले गर्दा यो आर्थिक वर्षमा पनि नगरपालिका बजेट शून्यताले चौतर्फी रूपमा समस्यामा नपर्ला भन्न सकिदैन ।

नगरपालिका अहिले उधारोमा चलेको छ । जनप्रतिनिधिहरु गैर–जिम्मेवार बन्दा अहिले चन्द्रागिरि नगरपालिकाको हालत गम्भीर अवस्थामा पुगेको छ । नगरपालिकाले विभिन्न बहानामा योजना कार्यान्वयनमा ढिलाई भएको दावी गरेपनि कुन योजनामा कति कमिसन खान पाइन्छ भनि जनप्रतिनिधिले योजना बेच्न खोज्दा समय लागेको नगरबासी बताउँछन् । उनीहरुले नयाँ बजेटमा योजना हाल्दा अग्रिम कमिसन उठाउने विचौलिया नगरपालिकाबाटै परिचालन गरिएको र कमिसनको खेल नमिल्दा योजना कार्यान्वयनमा ढिलाई भएको आरोप समेत लगाउन थालेका छन् । राजनीतिक खिचातानीका कारण नगरमा बेरुजु र भ्रष्टाचार मौलाउँदो अवस्था छ । कमजोर व्यवस्थापनले तोकिएको प्रक्रियाको पालना नहुँदा लक्षित वर्गले विकासको फल प्राप्त गर्न सकेको अवस्था छैन । त्यसैले नगरमा आर्थिक अनुशासन फितलो हुनुमा विभिन्न कारण हुन सक्छ । नेतृत्वको नियतमै खराब भएमा नियम कानुनले मात्र सुशासन कायम हुन सक्दैन ।

चन्द्रागिरि नगरपालिकाले विगत पाँच वर्षदेखि घाटा बजेट बनाउँदै आएको छ । नगरपालिकाले वर्षेनी घाटा बजेटलाई बढाउँदै जाँदा आ.ब. २०८०-०८१ को योजनाको भुक्तानी आ.ब. २०८१–०८२ को असोज महिना लाग्नलाग्दा समेत दिन सकेको छैन । छिमेकी नगरपालिका कीर्तिपुर नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिकालगायतका अन्य पालिकाको बजेट भन्दा कम बजेट ल्याउँदा आफ्नो इज्जत जान्छ भन्ने चन्द्रागिरिका जनप्रतिनिधिको सोचकै कारण अहिले चन्द्रागिरि नगरपालिका र नगरबासी अप्ठ्यारोमा परेका छन् । जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य र अधिकारलाई भुलेर पदको दुरुपयोग गर्दै भू–माफिया, ठेकेदारलगायत अन्य व्यक्तिसँग हात मिलाएर कमाउने र रमाउने खेलमा मस्त हुँदा नगर र नगरबासीप्रति आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् । जसकारण जनप्रतिनिधिकै कारण चन्द्रागिरि नगरपालिका र नगरबासी ठूलो खाडलमा फस्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय