काठमाडौं । चन्द्रागिरि नगरपालिका नागढुंगाबाट सुनजस्तो देखिने पहेलो धातुसहित एकजना पक्राउ परेका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको यात्रुबाहक बसमा प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ सय २ ग्राम सुनजस्तो देखिने पहेलो धातु २ टुक्रासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली जिल्ला टीकापुर नगरपालिका–४ बस्ने २३ वर्षीय एलिस ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले बसको अन्तिम सिटमा बसेका ढकाललाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो रंगको झोलामा कालै रंगको टेपले बेरेर दुई वटा पहेलो टुक्रा लुकाई छिपाई ल्याएको अवस्थामा बरामद भएपछि नियन्त्रणमा लिएको बताउनु भयो ।



उहाँले ढकाल प्रहरी वृत्त थानकोटको निगरानीमा रही थप अनुसन्धान भइरहेको बताउनु भयो ।



