काठमाडौं । चन्द्रागिरि हिल्सले इतिहास बंग्याएको विषयलाई लिएर स्थानीय र हिल्सविरुद्ध बढिरहेको तिक्तता अझ चुलिएको छ । चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा तयार पारेको चन्द्रागिरि नगरको पर्यटकीय स्थललगायतका विषयलाई समावेश गर्दै निर्माण गरिएको डकुमेन्ट्री प्रति आपत्ति जनाएको हो ।
नेपाल टेलिभिजनले प्रशारण गरेको डकुमेन्ट्रीमा सतीदेवीको अंग पतन भएर बनेको ६४ लिंग मध्ये २ वटा पीठ गोलोकेश्वर र चन्दन भराटेश्वर मन्दिर नगरपालिका भित्र रहेको साथै हिमवत खण्ड, चन्द्रागिरि पर्वत शृंखला अन्तरगत भालेश्वर डाँडामा अवस्थित भालेश्वर महादेवको मन्दिर हिल्सले निर्माण गरेको मन्दिर नै भएको देखाइएको छ । उक्त डकुमेन्ट्रीले प्राचिन इतिहासलाई बंग्याएर विश्वसामु भ्रम फैलाउन खोजिएको भन्दै समितिले सम्बन्धित निकायलाई सच्चिन र सच्याउन ध्यानाकर्षणसहित चेतावनी दिएको छ । विज्ञप्तिमा प्रशारित सामग्रीले थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका र चन्द्रागिरि नगरपालिकाका स्थानीयबासिन्दाको सांस्कृति भावना मर्ममाथि प्रहार गर्ने दुस्साहतपूर्ण कार्य भएको उल्लेख गरेको छ ।



साथै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि भालेश्वरको विषयमा दिनुभएको अभिव्यक्तिप्रति समितिले आपत्ति जनाएको छ । प्रमुख गिरीले भालेश्वर महादेवको वास्तविकता र त्यसको सनातन धार्मिक निरन्तरतामा आधारित रहेर स्थानीयले गर्दै आइएको सास्कृतिक गतिविधि, पर्व, पुजा र क्षेत्रगत मान्यताका विषयमा थाहा पाएर, नपाएर व्यक्त गरेको र गर्दै आईरहेको भ्रामक अभिव्यक्तिले नगरबासी लज्जित हुनुपरेको उल्लेख गरिएको छ ।
वास्तविक भालेश्वर महादेवको महिमा खण्डित हुनेगरी गलत, कपोकल्पित र प्रायोजित ढंगबाट जसरी डकुमेन्ट्री प्रशारण गरेर भ्रम फैलाउने कार्य भयो त्यसलाई सच्चाउन, परिमार्जन गर्न वा हटाउन सम्बद्ध माग गर्दै वेवास्ता गरिए समिति कानूनी उपचारमा जान बाध्य हुने समेत चेतावनी दिएको छ ।




