काठमाडौं । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य उद्योग तथा व्यवसायहरूमा कानुनी व्यवस्था र न्यूनतम सरसफाइसम्बन्धी मापदण्ड पालना भएको छ वा छैन भन्ने विषयमा चन्द्रागिरि नगरपालिकाले गरेको बजार अनुगमनले चिन्ताजनक अवस्था उजागर गरेको छ । अनुगमनका क्रममा कर प्रशासनदेखि खाद्य सुरक्षासम्मका आधारभूत नियमको पालना नगरेको भेटिएपछि सम्बन्धित व्यवसायमाथि कारबाही गरिएको छ भने केहीलाई सुधारका लागि चेतावनी दिइएको छ ।

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा उद्योग, वाणिज्य तथा व्यवस्थापन प्रवद्र्धन शाखाले संचालन गरेको संयुक्त अनुगमन टोलीले वडा नम्बर–८ स्थित रत्नपार्क पाउ भण्डारमा पुगेर निरीक्षण गर्दा व्यवसाय सञ्चालनका लागि अनिवार्य मानिने अभिलेख तथा खाता–किताब व्यवसाय स्थलमै नराखिएको फेला पारेको थियो । कर प्रशासनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार प्रत्येक व्यवसायीले आफ्नो कारोबारको अभिलेख व्यवस्थित रूपमा राख्नुपर्ने र नियामक निकायले मागेका बेला प्रस्तुत गर्न सक्नुपर्ने व्यवस्था छ । तर, उक्त उद्योगले सो व्यवस्था पालना नगरेको पाइएपछि आन्तरिक राजश्व कार्यालय कलंकीले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनका क्रममा खाद्य उत्पादनस्थलको अवस्था झनै गम्भीर देखिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिले अचार बनाउने र सुकाउने स्थानमा पर्याप्त सरसफाइ नभएको, उत्पादन क्षेत्र वरिपरि झिंगा र भुसुना रहेको तथा खाद्य पदार्थ उत्पादनका लागि आवश्यक स्वच्छ वातावरण कायम नगरिएको पाइएको बताएका छन् । खाद्य ऐन र खाद्य स्वच्छतासम्बन्धी मापदण्डले खाद्य पदार्थ उत्पादन हुने स्थान सफा, सुरक्षित र स्वास्थ्यअनुकूल हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै आगामी अनुगमनमा पनि यस्तै अवस्था भेटिए कडा कारबाही गरिने चेतावनी दिएको छ ।

रत्नपार्क पाउ भण्डारमा व्यवसायिक परिचय खुल्ने साइनबोर्डसमेत नराखिएको र व्यवसायसँग सम्बन्धित केही कागजात तथा दर्ता नवीकरणको म्याद समाप्त भइसकेको अवस्था पनि भेटिएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी अनुगमन टोलीले सोही वडामा संचालित आमाको अचार उद्योगको पनि निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा उद्योगले अचार उत्पादनका लागि स्वीकृति लिए पनि उद्योगभित्र चाउचाउ, चिउरा लगायत अन्य खाद्यान्नसम्बन्धी गतिविधिसमेत संचालन गरिरहेको पाइएको थियो । उद्योगले प्राप्त अनुमतिभन्दा फरक प्रकृतिको काम गरेको देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिले आवश्यक प्रक्रिया पूरा गर्न विभागमा सम्पर्क राख्न निर्देशन दिएको छ ।

अनुगमनमा सहभागी अधिकारीहरूले व्यवसाय संचालनको अनुमति लिएपछि सोही अनुमतिअनुसार काम गर्नु कानुनी दायित्व हो । अनुमति नलिएको क्षेत्रको उत्पादन वा कारोबार गर्नु नियामक निकायको दृष्टिमा गम्भीर विषय मानिन्छ र आवश्यक परे थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, प्रहरी वृत्त थानकोट, संचारकर्मी, नगर उद्योग वाणिज्य संघ तथा नगरपालिकाका प्रतिनिधिको सहभागितामा भएको उक्त अनुगमनले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा अझै पनि धेरै व्यवसाय र व्यवसायी सचेत र जिम्मेवार बन्न नसकेको यथार्थ बाहिरिएको छ । बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर, सरसफाइ र कानुनी प्रक्रियाको पालना सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय