काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगर अस्पतालको शिलान्यास भएको छ । वडा नं. ४ स्थित नगर प्राथमिक अस्पताल हाताभित्र करिव २३ रोपनी जग्गामा कूल २० करोड ७५ लाख ६३ हजार २ सय ८६ रुपैयाँ लागतमा १५ शै्ययाको भवनको नगरप्रमुख घनश्याम गिरीले शिलान्यास गर्नुभएको हो ।




शिलान्यासपछि नगरप्रमुख गिरीले कठिन मेहनतका साथ सुरु गरिएको प्राथमिक अस्पतालको सफलतापछि अहिले ठूलो अस्पताल बनाउन लागिएको भन्दै सरोकारवाला तथा नगरवासीलाई सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले संचालन गरेको प्राथमिक अस्पताल देशैभर स्थानीय निकायले संचालनमा ल्याएको अस्पताल भन्दा उत्कृष्ठ अस्पताल थानकोट अस्पताल रहेको दाबी समेत गर्नुभयो । उहाँले हाल सञ्चालनमा रहेको प्राथमिक अस्पतालमा सेवा सुविधा नपुगेको जनगुनासो आइरहेको र उक्त गुनासाहरुको सम्बोधन पनि यथाशक्य चाँडो गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । गिरीले नगर अस्पतालमा सरकार तोकेको दररेट भन्दा पनि कम शुल्कमा सेवा दिइएको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले अब बन्ने अस्पताल नगरपालिकाकै गौरवको अस्पताल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको चासो र स्वास्थ्यसँग सम्बन्ध रहने भएको अस्पतालको भवन निर्माणमा ढिलाई नगर्न निर्माण कम्पनी एम ए कन्स्ट्रक्सन प्रालिलाई सचेत गराउनु भयो । ठेकेदारले ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्ने परिपाटी बस्दै गएकाले त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै, नगर प्रवक्ता एवम् वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले अस्पताल बनाउनका लागि जग्गा प्राप्तिकै लागि एक वर्ष कसरत गर्नुपरेको स्मरण गर्दै ६ महिना अघि मात्रै उक्त जग्गा अस्पतालको नाममा आएकोले अस्पतालको भवन निर्माणमा बाटो खुलेको बताउनु भयो । प्रवक्ता खड्गीले अब निकट भविष्यमै २५ शै्य्याको प्रसूति अस्पताल बन्ने र काठमाडौंको थापाथलीमा रहेको प्रसूति गृहको प्रत्यक्ष निगरानीमा रही अस्पताल संचालनमा गरिने र नगर आफै सक्षम भएपछि सबै जिम्मेवारी नगरपालिकालाई नै हस्तान्तरण गर्ने सहमति भएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले आफु पनि यहीकै नगरबासी भएको र अहिलेको अस्पतालबाट पनि आफुले सुविधा लिइरहेको र अब बन्न लागेको अस्पताललाई समयमै सम्पन्न गर्न आफुले सक्दो पहल गर्ने पनि बताउनु भयो । उहाँले आफु बसोबास गर्ने ठाउँमा नगरनगर अस्पताल बन्नु गर्वको विषय भएको भएको पनि उल्लेख गर्नुभयो । उहाँले निर्माण कम्पनीसँग २०८० असार २० गते सम्झौता गरी २०८२ असार २० गते निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता भएको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, थानकोटस्थित नेपाली सेना, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।



