चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको आयोगको २८औँ बैठकले स्नातक, डीएम/एमसीएच तथा एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो।
बैठकमा सहभागी सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको तुलनामा समग्रमा चिकित्सा शिक्षाका सिट बढेका छन्। तर कुन विषय र तहमा कति सिट थपिएको हो भन्ने विस्तृत विवरण बैठकमा प्रस्तुत नगरिएको उनले बताए। आयोगका सदस्य सचिव हरि निरौलाले पनि सरकारी शिक्षण संस्थामा यस वर्ष केही सिट बढाइएको जानकारी दिएका छन्। उनका अनुसार विभिन्न शैक्षिक कार्यक्रममा सिटको हेरफेरसमेत गरिएको छ।



बैठकमा एमबीबीएस र बीडीएसका इन्टर्नको निर्वाह भत्तासम्बन्धी विषयमा पनि छलफल भएको छ। यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको सम्झौतासम्बन्धी कार्यसूचीअनुसार आयोगकै मातहतमा कार्यदल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी सदस्यले जानकारी दिए। यद्यपि, इन्टर्नको निर्वाह भत्ताबारे ठोस निर्णय भने भइसकेको छैन। कार्यदल गठनको प्रक्रिया आयोगको कार्यकारी समितिमार्फत अघि बढ्ने सम्भावना रहेको जनाइएको छ।



